नेपालभरीकै नेवार समुदायको भन्दा आकर्षक भएको दाबी

|

म्याग्दी : बेनी बजारमा नेवार समुदायको आगमन करिब साढे दुई सय वर्षअघि भएको मानिन्छ। भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै यहाँ नेवार संस्कृति भित्रिएको हो। यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ।

परापूर्वकालमा घण्टाकर्ण नाम गरेको राक्षसले समाजमा दुःख दिएको र विकृति फैलाएको इतिहास छ। इतिहासअनुसार दुख दिने घण्टाकर्ण राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालिगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा वर्षे नाच सुरु हुन्छ।

पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ। ठूला ठूला आँखा भएकी, दाह्रा निस्केकी,जगल्टा फिजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीको प्रसिद्ध नाच हो।

समय र प्रविधिसँगै नेवार समुदायको संस्कृतिमा पनि निकै उतारचढाव र परिवर्तन आए। कैयौंँ पुस्ता बिते। अनेकौं मौलिक संस्कृति लोप भए। तर, लाखे नाचका लागि प्रयोग गरिने मुखौटो (मुकुण्डो) मा भने कुनै परिवर्तन आएन। यहाँको लाखे नाचमा नौ पुस्तादेखि एउटै मुकुण्डो प्रयोग हुँदै आएको छ।

मुखौटो नै मुख्‍य आकर्षण

लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ। बेनी बजारमा मानवबस्तीको विस्तारसगैँ नेवार समुदायले पनि हरेक वर्ष लाखे नाच देखाउँदै आएका छन्। पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नवौं पुस्ताका सदस्यले समेत प्रयोग गर्दै आएको नेवार समुदायका अगुवा युवा रमेश श्रेष्ठले बताए। बेनीका नेवार समुदायसँग रहेको मुखौटो नेपालभरिका नेवार समुदायको भन्दा विशेष आकर्षक रहेको र यसको चर्चा सर्वत्र हुने गरेको श्रेष्ठले जानकारी दिए।

पहिले तोरीको तेलले सफा गरिने मुखौटोलाई आकर्षक देखाउन अहिले इनामेल प्रयोग गर्ने गरिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताए। बर्खे नाचको सुरुवात लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुतला दहन गरेर हुन्छ भने तिजको साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ।

हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ। नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरूले बताएका छन्।

बेनीमा लाखे नाच,गोरु नाच,रोपाइँ नाच, जोगी नाच, नागानागिनी नाच,श्रीकृष्ण रथयात्रा सहित विविध नाच देखाइने गरिन्छ। जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा रहेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.