|

धरान  : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन हुँदैछ। पुस ८ गते विराटनगरबाट सुरु भएको वृहद खेलकुद प्रतियोगिता सुनसरीको धरानमा समापन गर्न लागिएको हो। दिउँसो १२ बजेपछि धरानको एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने समारोह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनेछन्।

समापनको दिन नेपाली सेनाले खुकुरी नाच देखाउनेछ भने शेर्पा, तामाङ र राई समुदायले आ-आफ्नो सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन्। त्यस्तै बिभिन्न स्कुलहरुले पनि समापन समारोहमा झाँकी र नृत्य प्रदर्शन गर्ने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समारोह उपसमितिका सचिव कुलबहादुर थापाले जानकारी दिए। नेपाली सेनाले प्रस्तुत गर्न लागेको दुर्इ सय जनाको खुकुरी नाच समापन समारोहको विशेष आकर्षण रहेको उनले बताए।

समापन समारोह सुरु हुनुभन्दा अगाडि धरान टेक्निकल सेन्टरमा पुरुष फुटबलको फाइनल हुनेछ। फाइनलमा नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी मध्यमाञ्चललाई र सशस्त्र प्रहरी नेपाल प्रहरीलाई हराउँदै फाइनल पुगेका हुन्।

त्यस्तै आजै मोरङको वैजनाथपुरमा पुरुष क्रिकेटको पनि फाइनल खेल हुनेछ। फाइनलमा दिउँसो १ बजे नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन्। आज बिहान ९ बजे पुरुष क्रिकेटको कास्य पदकका लागि मध्यमाञ्चल विकास क्षेत्र र नेपाल प्रहरीले प्रतिस्पर्धा गर्नेछ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हिजोसम्म सकिएका खेलबबाट नेपाली सेनाले सबैभन्दा धेरै १ सय ८ स्वर्ण ६० रजत र ४३ कास्य गरी २ सय ११ पदक जित्दै नेपाल आर्मी पहिलो स्थानमा छ। नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ३९ कास्यसहित ११६ पदक जितेर दोश्रो स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.