|

बागलुङ : लुटपाटका लागि लागु पदार्थ सुँघाइएपछि बेहोस भएका बागलुङका युवकको स्वास्थ्य अवस्था अझै कमजोर रहेको परिवारका सदस्यले बताएका छन्। काठमाडाैंमा उपचार गराइरहेका बागलुङ नगरपालिका १२ अमलाचौरका किरण आचार्यको अवस्था कमजोर र अझै पूर्ण होसमा नआएको बिरामीका बाबु मुक्तिराम आचार्यले बताए। 

गत बिहीबार बागलुङदेखि काठमाडाैं जाने रात्री बसमा उनलाई बेहोस बनाएर लुटपाट गरिएको थियो। बेहोस भएपछि काठमाडाैं बसपार्कका सुरक्षाकर्मी र श्रीमतीले अस्पताल लगेर उपचार गराएका थिए। २४ घण्टासम्म सघन उपचार कक्षमा राखेर उपचार गरे पनि उनको अबस्था अझै सुधार हुन नसकेको हो।

हातगोडा लुलो, बेला बेला होसको कुरा गरे पनि फेरि बेहोस भइरहने समस्या भएकोले थप उपचार गर्नुपर्ने परिवारका सदस्यले बताए। कोलीफम नामक बिषादी सुँघाएकोले उनको अवस्था कमजोर भएको अस्पतालका चिकित्सकले बताएका छन्। यो विषादीले कमजोर व्यक्तिको ज्यानै जाने खतरा हुन्छ भने स्वस्थ्य मानिसलाई पनि पुरानो अवस्थामा फर्कन धेरै उपचारको आबस्यकता पर्छ।

यो घटनालाई धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिले पनि गम्भीर रुपमा लिनुपर्ने सरोकारवालाले बताए। ‘चालक र सहचालकले पनि मिलेमतो गरेको हुन सक्छ’ बाबु मुक्तिराम आचार्यले भने, ‘बस भित्र बिरामी भेटिएपछि प्रहरीमा खवर गर्ने वा उपचारमा पठाउनुको साटो दुर्व्यवहार गरियो।’ चालक शिव थापा र सहचालक मिलेर पीडितलाई रक्सी पिएको भन्दै जवरजस्ती बसबाट निकालेका थिए।

काठमाडाैंमै रहेकी श्रीमतीले थाहा पाएर अस्पताल पुर्‍याएकी थिइन्। अन्दाजी ५० वर्षीय व्यक्ती आचार्यको आडमा यात्रा गरेका थिए। बाटोमा खाना खान आग्रह गर्दा आचार्य नमानेपछि चाउचाउ किनेर खुवाउने प्रयास गरेकोले घटनामा उसकै संलग्नता देखिएको भन्दै परिवारले खोजी गरेर कारवाही गर्न समेत माग गरिएको हो।

परिवारका सदस्य,आफन्त र प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले शनिबार छलफल गरेर बसका चालक, सहचालक समेतको सहयोगमा घटनाको छानविन गर्ने आश्वासन दिएका छन्। पटक पटक काठमाडाैं र सुनौली यात्रा गर्ने गरे पनि उक्त व्यक्तिले फोन नम्बर नदिने गरेकोले उनी लागुपदार्थ कारोवारी हुन सक्ने समेत प्रहरीले शंका गरेको छ। सानु मगर नाम दिए पनि उनले अन्य परिचय नखुलाएको पाइएको हो। 

परिवारका सदस्यको नाउँमा जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी गंगबु काठमाडाैंमा उजुरी दर्ता गरिएको छ। बागलुङदेखि काठमाडाैं जाने बसमा अहिलेसम्म यस्तो घटना नभएकोले यो नौलो भएको धौलागिरी यातायात बस व्यवसायी समितिका सचिव कुमार मल्लले बताए।

‘कोही मर्‍यो भन्दा काल पल्कियो भन्ने भएको छ। त्यसैले उचित छानविन गर्न हामी सहयोग गर्छौ’ मल्लले भने, ‘यस्ता घटना बढ्न नदिन समयमै ध्यान दिनै पर्छ।’ यस्ता घटना नहुन् भनेर काठमाडाैंका लागि एसी र डिलक्स प्रकारका बस मात्र रात्री सेवामा चलाइएको उनले बताए। केही समयदेखि काठमाडाैंका लागि सामान्य बस चलेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.