|

काठमाडौं : शरीर आकर्षक बनाउन र मोटोपन घटाउन हिजोआज जिम गर्ने मानिसहरुको संख्या निकै बढेको छ। जिम सेन्टर जान समय नहुनेहरु पनि घरमै शारीरिक अभ्यास गर्छन्। घर वा जिम सेन्टर जहाँ भएपनि ब्यायाम सही तरिकाले गरिएन भने शरीरलाई झन् हानी हुन सक्छ। तपाईं जिम गर्नुहुन्छ वा जिम गर्ने योजनामा हुनुहुन्छ भने त्यसका लागि यी ९ कुरामा ख्याल गर्नुस्, जसले तपाईंको शरीरलाई फिट राख्न मद्दत गर्छ। थाहा पाउनुस् ती तरिका :  

१.  किन जिम गर्दै हुनुहुन्छ प्रष्ट हुनुस्  

सबैभन्दा पहिले आफु केका लागि जिम गर्दैछु भन्ने कुरामा स्पष्ट हुनुपर्छ। शरीरको तौल घटाउन हो वा बढाउन? तौल घटाउन  वा बढाउन जुन कारणले जिम गर्ने भएपनि जिम ट्रेनरको सल्लाह अनुसार ब्यायाम गर्ने र त्यसै अनुसारको खानपानमा ध्यान दिनुपर्छ।

२. हत्तामा ३/४ दिन मात्र जिम गर्नुस्  

हप्तामा सात दिन नै जिम गर्नुपर्छ भन्ने छैन। ३/४ दिन आएपछि एक दिन आराम गर्नुपर्छ। हप्ताभरी जिम गर्दा शरीरलाई आराम पुगेको हुँदैन। लगातार शरीरलाई प्रेसर दिँदा धेरै थकाइ लाग्छ। यस्तो भएमा केही खाएपनि शरीरमा लाग्दैन। त्यसकारण हप्तामा सातै दिन भन्दा १ दिन बिराएर जिम गर्नु उपयुक्त हुन्छ।

३. कम्तीमा दिनमा ८ घन्टा सुत्नुस्

जिम गर्न सुरु गरेपछि दिनमा ८ देखि ९ घन्टा कम्तीमा सुत्नुपर्छ। राम्ररी निन्द्रा  पुगेन भने धेरै थकाइ लाग्छ। शरीरलाई फ्रेस अनुभव गराउन पनि जिम गरेपछि नियमित रुपमा राम्रो निन्द्रा लिन आवश्यक छ।

४. सन्तुलित खाना खाने गर्नुस्

जिम गर्ने मानिसले सन्तुलित खाना खानुपर्छ। दुब्लो शरीर भएमा धेरै खानुपर्छ। यदि शरीर मोटो छ र तौल घटाउन जिम गर्दै हुनुहुन्छ भने थोरै थोरै खानेकुरा छिटो छिटो खानुपर्छ। यदि मोटाउनु छ भने शक्ति कम खर्च गर्ने र धेरै खाने गर्नुपर्छ।

जिम गर्ने मान्छेले सन्तुलित भोजन खाएन भने हड्डी भाँचिने र काम गर्न नसक्ने हुन्छ। दौडिन नसक्ने, एकदम चाँडै थाक्ने जस्ता असरहरु देखिन सकछ। शरीर घटाउन भन्दै जिम गर्दा क्षयरोग (टिवी) पनि लाग्ने सम्भावना हुन्छ। त्यसैले जिम गर्न सुरु गरेदेखि नै नियमित रुपमा सन्तुलित भोजन खानुपर्छ।

५. जिम हलभित्र सवधानी अपनाउनुस्

पहिलो पटक जिम हलमा जाँदा अरुले गरेको देखेर म पनि त्यही गर्छु भन्नुहुँदैन। आफ्नो क्षमता कति छ त्यो हिसाबले र जिम प्रशिक्षकको सल्लाहमा गर्नुपर्छ। जिम गर्दा अपनाउनु पर्ने सवाधानी नियम र गर्ने तरिकाहरुबारे जिम प्रशिक्षकसँग सोधेर राम्रोसँग गर्नुपर्छ।

६. प्रोटिनयुक्त खाने कुरा खानुस्

जिम गर्न सुरु गरेपछि शरीर दुब्लो पातलो जस्तो भएपनि प्रोटिन युक्त खानेकुरा खानुपर्छ। कार्बोहाइड्रेड भएका खानेकुरा जस्तै दाल, भात, तरकारी भन्दा पनि प्रोटिन युक्त खानेकुरा जस्तै मासु, राज्मा, चना, अन्डाको सेतो भाग आदि खानुपर्छ।

७. जिम गर्न साथीसँगै जानुस्

जिम गर्न जाँदा आफुजस्तै साथीपनि सँगै लिएर जानु राम्रो हुन्छ। यसले दुई जनाको कुरा मिल्छ, एक अर्कालाई सहयोग हुन्छ। जसले गर्दा जिम गर्छु भन्ने आत्मविश्वास पनि बढाउँछ। जिम गर्दा थकान र एक्लोपना महसुस हुँदैन।

८. एकै पटक धेरै तौल नउठाउनुस्

जिम गर्न सुरु गर्ने वित्तिकै अरुले गरेको देखेर म पनि यति गर्न सक्छु भनेर एकै पटक धेरै तौल उठाउनु हुँदैन। आफ्नो सुरुको क्षमता १० किलो उठाउने छ भने त्यतिबाट मात्र सुरु गर्नुपर्छ। हप्तैपिच्छे जिम गर्दै जादाँ शरीरमा इनर्जी बढ्दै गएपछि १० बाट २०, २० बाट ३० गर्दै तौल बढाउँदै लैजानुपर्छ।

९. शरीरको सबै भागको ब्यायाम गर्नुस्

ब्यायाम गर्दा शरीरका मुख्य छ भाग- छाती, ढाड, पाखुरा, खुट्टा र हातको ब्यायाम गर्नुपर्छ। यी ६ भागको व्यायाम गरेपछि मात्र शरीर बलियो हुन्छ। कतिपय केटाहरुले हात ठूलो देखाउने हिसाबमा खुट्टाको एक्सरसाइज नगर्ने बानी हुन्छ। यसले हात ठूलो हुनु भन्दा पनि झन कमजोर भइन्छ। शरीरको हरेक भाग एक अर्कासित जोडिने हुँदा सम्पूर्ण भागको व्यायाम गर्नुपर्छ। यसो नगरेमा शरीर राम्रो र बलियो हुनु भन्दा पनि कमजोर हुन थाल्छ।

जिम प्रशिक्षक सिर्जन महर्जनसँग गरेको कुराकानीमा आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.