|

ताप्लेजुङ : सदरमुकाम फुङलिङमा सञ्चालन हुन लागेको चौथो संस्करणको पाथीभरा गोल्डकपको तीव्र तयारी भइरहेको छ। 

साउन ३० देखि भदौ ६ सम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकका लागि बाँसको प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। सात हजार दर्शक अटाउन सक्ने क्षमताको प्याराफिट निर्माण भैरहेको आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव लक्ष्मी काफ्लेले जानकारी दिए। मैदानमा पक्की प्याराफिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरेको छ। 

मैदानको एकतर्फ स्थायी प्याराफिट भए पनि अन्य भागमा बर्सेनि बाँसको प्याराफिट निर्माण गर्नुपर्ने बाध्यता छ। श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले प्रतियोगिता सञ्चालन बोझिलो भएको आयोजकको भनाइ छ। जसका कारण हरेक वर्ष प्याराफिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ। यसवर्ष करिव सात लाख रुपैयाँ खर्चेर प्याराफिट निर्माण गरिने सचिव काफ्लेले जानकारी दिए। 

प्याराफिट निर्माणका लागि दुई हजार घना बाँस आवश्यक पर्दछ। एक पटक प्रयोग भएको बाँस अर्को पटक काम नलाग्ने हुँदा बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ। प्रतियोगिता सकिएपछि लाखौं खर्चेर किनेको बाँस कौडीको मूल्यमा बेच्ने गरेको आयोजकको भनाइ छ। यसवर्ष दर्शक धेरै अटाउनका लागि १० लेनको अस्थायी प्याराफिट निर्माण गरिएको छ। 

यस संस्करणमा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। भारतको रोयल फुटबल क्लबसहित बेलबारी फुटबल क्लब, एलाभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्पोर्टिङ क्लब झापा, रेडस्टार क्लब झापा, रेडहर्ष क्लब इलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर र घरेलु दुई टिम प्रतियोगितामा सहभागी हुने भएको आयोजक समितिका अध्यक्ष नारायण थापाले जानकारी दिए। 

लाखेजात्रा तथा जनैपूर्णिमाको अवसरमा २०२९ सालदेखि ताप्लेजुङमा निरन्तर फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ। २०७२ सालसम्म कञ्चनजंघा च्यालेञ्ज रनिङकप भनेर खेलाइँदै आएकोमा त्यसपछि पाथीभराको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा गोल्डकप बनाइएको आयोजकले जनाएको छ। 

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार रुपैयाँसहित ट्रफी र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। 

यस्तो छ खेल तालिका

चौथौ पाथीभरा गोल्डकप २०७६ को खेल तालिका शनिवार सार्वजनिक गरिएको छ। प्रतियोगिताको पहिलो दिन पोमु केछाङ स्र्पोटिङ क्लब, ताप्लेजुङ र रेडहर्ष क्लब इलामबीच प्रतिस्पर्धा हुने भएको छ। 

यस खेलको विजेताले साउन ३२ मा फिदिम स्र्पोटिङ क्लब पाँचथरसँग खेल्नेछ। साउन ३१ मा ताप्लेजुङ–११ र बेलबारी फुटबल क्लब मोरङबीच हुनेछ। यस खेलाको विजेताले भदौ १ मा डाँगीहाट क्लब मोरङसँग प्रतिस्पर्धा गर्नेछ। 

भदौ २ मा युके एफसी दार्जिलिङ र एलाभेन एरोज सुनसरी भिड्नेछ। भदौ ३ मा डिफेन्डिङ च्याम्पियन रेड स्टार क्लब झापा र  गोर्खा स्र्पोटिङ क्लब दमकबीच खेल हुनेछ। 

भदौ ४ र ५ मा सेमिफाइनल खेल हुनेछ। फाइनल खेल भदौ ६ मा हुनेछ । १० टिम सहभागी खेल ९ दिनसम्म सञ्चालन हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.