प्रदेश २ सरकारद्वारा सार्वजनिक बिदाको घोषणा

|

बारा : इस्लाम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल अज्हा) पनि एक हो। ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरीका मुसलमान समुदायले यस वर्षको बकर ईद पर्व सोमबार मनाउँदै छन्। इस्लाम पात्रो ‘हिजारी सम्वत्’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ।

कसरी मनाइन्छ

यस दिन बिहान सबैरै उठेर नुहाएर शुद्ध हुने र खुलास्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अंगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्वानी (वली) दिने परम्परा रहेको निजगढका मोजहर मन्सुरले बताए।

'वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम् तेस्रो भाग गरीब तथा असहायलाई दिने परम्परा रहेको छ,' उनले भने 'यो पर्व तीन दिनसम्म मनाइन्छ।' 

खसी बजारमा घुइँचो

बाराको निजगढ बजारमा कुर्वानीका लागि खसी किन्‍नेको घुइँचो लागेको छ। निजगढको हाट बजारमा बुधबार र आइतबार मुस्लिम समुदायले खसी खरिद गर्ने गरेकाले घुइँचो लागेको हाट बजारका कर संकलन गर्दै आएका मनोज सापकोटाले बताए।

यस्तो इतिहास

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको सपना देखे। सपनामा नै उनले आफ्नै छोरालाई आफैँले छुरी रोपेर बली दिएको देखे।

त्यसको भोलिपल्ट उनले विपनामा छोरालाई त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मर्‍यो। त्यसपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।

सद्भावको पर्व

मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मीठा परिकार तथा प्रार्थना एकापसमा साटासाट गर्दछन्। नेपाली मुस्लिम समुदायले यो समय आफ्ना गैह्र मुस्लिम साथी भाइहरूलाई डाकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसीको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसियाली साँट्ने गर्दछन्।

प्रदेश २ मा सार्वजनिक बिदा

प्रदेश २ सरकारले बकर ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक बिदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन्।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.