|

साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ।

नाम बताउन नचाहने एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरूमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही गरिएको जानकारी दिए। यो चेतावनीस्वरुप गरिएको पहिलो कारबाही रहेको पनि उनले बताए।

उनले हवाई कारबाहीबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको पनि बताए।

हवाई कारबाही पश्चात् एसटीसीसँग आबद्ध सेनाले आफ्नो गन्तव्यमा फिर्ता भएको जनाएको छ। राष्ट्रपति कार्यालय र सरकारी सुरक्षाफौजको अखडा समेतमा कब्जा जमाएको एसटीसीले साउदी सरकारको अनुरोधलाई स्वीकार गरेको बताएको छ।

एसटीसीका प्रवक्ताले जारी गरेको वक्तव्यमा यमन सरकारसँगको वार्तामा सहभागी हुन साउदी अरेबियाले अनुरोध गरेको भन्दै त्यसको स्वागत गरिएको छ।

यमन युद्धमा सहभागी भएको साउदी गठबन्धनले शनिबार एसटीसीलाई एडेनमा तत्काल युद्धबिराम गर्न चेतावनी दिएको थियो। साउदी सञ्चार माध्यमका अनुसार साउदी गठबन्धनले युद्धविराम नगरे थप हवाई कारबाही गर्ने चेतावनी पनि दिएको थियो।

हाल यमनको राजधानीमा हुथी विद्रोहीले कब्जा गरेका कारण साउदी मान्यताप्राप्त सरकारले एडेनलाई अस्थायी राजधानी बनाएको छ। एडेनमा सक्रिय एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको भनाइ छ।

यमन सरकारले सन् २०१५ देखि एडेनलाई राजधानी बनाएको छ। सन् २०१४ देखि शुरु भएको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ। यमनमा हुथी विद्रोहीलाई राजधानी साना सहित अधिकांश भूभागमा कब्जा जमाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.