विवरण सच्याएर खर्च माग्‍नेमा नेशनल मेडिकल कलेज पहिलो

|
घोषणा विपरीत अहिले रकम बुझ्ने लाइनमा रहेको गण्डक अस्पताल।

पर्सा : गएको चैत १७ गते नेपालमा पहिलोपटक आएको भनिएको टोर्नाडो (हावाहुरी) बाट घाइते भएकालाई वीरगन्जका हस्पिटलहरूले उति वेला निःशुल्क उपचार गर्छौं भनी घोषणा गरेका थिए। विपत्मा परेकालाई सहयोग गर्ने उनीहरूको प्रतिवद्धता पनि थियो। तर अहिले निशुल्क उपचार गरी सहयोग गर्छौं भनी घोषणा गरेका वीरगन्जका हस्पिटलहरूले धमाधम हावाहुरीबाट घाइते हुनेका नाममा विवरण बढाएर लाखौं रकम बुझ्न थालेको तथ्य फेला परेको हो।

विवरण सच्याउँदै लाखौँको सिफारिस गरिदिन माग

हावाहुरी पीडितलाई उपचार गर्दा लागेको खर्च प्रदेश २ मुख्य मन्त्रीको कार्यालयले दिने भन्ने थाहा पाएपछि वीरगन्जका हस्पिटलहरूले आफ्नै घोषणालाई उल्टो सावित गरिदिएको प्रमाण नै फेला परेको छ।

वीरगन्जका अस्पतलाहरूले घाइतेको विवरणसमेत तलमाथि गरेको पटकपटकको विवरणले प्रस्‍ट्याउने जिल्ला प्रशासन कार्यालय पर्साका एक कर्मचारीले बताए। सुरुमा एक किसिमको विवरण अस्पतालहरूले पेश गरेका थिए। अहिले आएर धमाधम सिफारिसको लागि बजेट बढी लागेको भनी सिफारिसका लागि आइरहेका छन् नाम नबताउने सर्तमा उनले भने।

हावाहुरी पीडितलाई गरेको उपचारको रकम बढी माग गर्ने अस्पतालहरू मध्येमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल १ नम्बरमा दरिएको छ। त्यस लगत्तै एल एस न्यूरो अस्पताल, वीरगन्ज हेल्थ केयर हस्पिटल र गण्डक हस्पिटल त्यस पछि क्रमश लाखौं रकम माग गर्ने हस्पिटलहरू हुन्।

उपचार गरेको तथ्यांक पनि नेशनलकै बढी

नेशनल मेडिकल केलेजले गम्भिर प्रकृतिका घाइतेसहित सामान्य गरी २३३ जना हावाहुरीबाट घाइते भएकालाई उपचार गरेको प्रमाण पेश गरी ३१ लाख ३८ हजार २८४ रुपैयाँ रकमको माग गरेको छ। त्यसैगरी एलएस न्यूरो अस्पतालले २० जना बिरामीको तथ्यांक पेश गरी १५ लाख दाबी गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिदिन माग गरेको छ।

यसको अलावा वीरगन्ज हेल्थ केयर हस्पिटलले ५५ जना बिरामीको उपचार गरेको भनी १३ लाख ६३ हजार ५६ रुपैयाँ, गण्डक अस्पतालले ५८ जना बिरामीको उपचार गरेको भनी ६ लाख ९३ हजार ६२५ रुपैयाँ खर्चको एकमुष्ट डाटा पेश गरेको प्रमाण फेला परेको हो।

कुनै पनि अस्पतालले बिलभौचरको विवरण भने नबुझाई एकमुष्ट रकम मात्र माग गरी सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालय पर्सासमक्ष निवेदन दिएका छन्। नेशनल मेडिकल कलेजलगायत केही कलेजले भने मुख्य मन्त्रीको कार्यालयबाट भुक्तानी पनि बुझिसकेको मुख्य मन्त्रीको कार्यालय जनकपुरधामले जनाएको छ।

तराई अस्पतालले भने रकम नलिने

विपत्का समयमा निःशुल्क उपचार गर्ने घोषणा गरेका मध्ये स्थानीय तराई अस्पतालले भने कुनै रकम नलिने भनी खर्च गरेको रकम भने जानकारीका लागि जिल्ला प्रशासन कार्यालयलाई जनाएको छ। उसले प्रशासन कार्यालय पर्सामा पेश गरेको विवरणमा पनि रकम नचाहिने नै जनाएको छ।

बढी बिरामी हेर्ने नारायणी अस्पतालको खर्च ८ लाख ८० हजार मात्र

वीरगन्जका सबै हस्पिटलहरूमध्ये सबैभन्दा बढी ३४६ जना घाइतेलाई उपचार गरेको वीरगन्जको नाराययणी अस्पतालको खर्च जम्मा ८ लाख ८० हजार मात्र लागेको तथ्याँकले देखाएको छ।

नीजि अस्पतालहरूले भने केही गम्भीर प्रकारका बिरामी बाहेकका बिरामीको पनि बढीबढी खर्च लागेको भनी रकम माग गरेको यो विवरणले पनि प्रस्‍ट्याउने अुनमान स्थानीय चिकित्सकहरूको छ।

प्रदेश २ सरकारले सो समयमा गरेको खर्चको उचित विवरण पेश गरे रकम उपलब्ध गराउने भने पनि अतिरिक्त रकम लिन बिल बढाएर पठाएको अनुमान सरकारी कार्यालयमा कार्यरत चिकित्सकको भनाइ छ। नीजि अस्पतालको चिकित्सकहरू पनि केही तलमाथि त भइहाल्छ नि भन्छन्। तर उनीहरूले आफ्नो नाम भने कतै पनि उल्लेख नगरिदिन अनुरोध गरे।

प्रशासन कार्यालयको सिफारिसबिना भुक्तानी नहुने

जिल्ला प्रशासन कार्यालय पर्साले सिफारिस नगरेसम्म उनीहरूलाई प्रदेश २ सरकारले रकम भुक्तानी नदिने भएपछि बिल पेस नगरी एकमुष्ट रकम मात्र उल्लेख गरी भुक्तानीका लागि अस्पतालहरूले रकमको दाबी गरेको प्रमाण जिल्ला प्रशासन कार्यालयमा सुरक्षित छ।

प्रदेश नम्बर २ मुख्य मन्त्रीको कार्यालयले अस्पतालहरूको खर्च व्यहोरिदिने भन्दै त्यहिबाट भुक्तानी दिने भएपछि चेक काट्नेले नै बिल विजकबारे चासो राख्नु पर्ने निष्कर्षसहित आफ्नो कार्यालयले सिफारिस मात्र गरिदिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 'जसले चेक काटिदिन्छ उसले खर्चको विस्तृत विवरण माग गर्नुपर्ने हो' पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने। 

वीरगन्जका अस्पतालहरूले विपत्का समयमा घाइतेहरूलाई गरेको उपचारको खर्चको भुक्तानी लिँदै गरेको प्रदेश नम्बर-२ सरकारको मुख्य मन्त्री कार्यालयका मुख्य मन्त्रीका एक स्वकीय सचिवले पनि सो कुरा सही रहेको बताएका छन्। 'कति अस्पतालले त भुक्तानी लगिसके। खर्चको माग दाबी अनुसारको विवरण पेस गर्ने क्रम पनि चलिरहेको छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.