|

पर्वत : महिलाहरू आबद्ध रहेर स्थापना गरेका विभिन्न संघ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय पर्वतले तिजको विषयमा जारी गरेको सूचनाको विरोध गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले गत २३ गते सूचना जारी गर्दै मौलिक परम्परा र सामाजिक मर्यादा नाघेर होटेल तथा पार्टी प्यालेसमा दर खाने, भेटघाट कार्यक्रम गरी गहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, साङ्गीतिक कार्यक्रमहरूका नाममा ध्वनि प्रदूषण गराउने कार्य नगर्न अनुरोध गर्दै यदि कसैले गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने बताएको थियो। 

महिला सम्बद्ध विभिन्न संघ संस्थाहरूले भने महिलाहरूको महान् पर्व हरितालिका तिजमा सहज रूपमा कार्यक्रम गर्न पाउनु नारीहरूको स्वतन्त्र अधिकार भएको भन्दै प्रशासनले जारी गरेको सूचनाको विरोध गरेका हुन्। ‘गाउँमा ठाउँ फराकिलो छ, खुला चौरमा बसे नि घरमै रमाए नि भो।

तर सहरमा कुनै ठाउँ खाली हुँदैन, पार्टी प्यालेसमा नाच्न र खान नपाउने हो भने हामी कहाँ जम्मा भएर दर खाने हो? कहाँ नाच्ने हो?’ सञ्चारिका समूहकी अध्यक्ष माया अधिकारी भन्छिन्, ‘सांस्कृतिक रूपमा तिज मनाउन नदिएर प्रशासनले सेन्सरसीप लगाउने हो भने, अब हरेक कुरामा यसरी नै निषेध गरे भो।’ मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्नु सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दायित्व भएको भन्दै महिलाहरूले प्रशासनले अनावश्यक हस्तक्षेप गर्न नहुने बताए।

तिजलाई सीमित घेरामा तोक्न मिल्दैन

प्रशासन कार्यालयले तिजलाई सीमित घेरामा तोक्न नमिल्ने बताउँदै सञ्चारिका समूहको नेतृत्वमा झन्डै एक दर्जन संस्थाहरूले तिजमा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाउनुपर्ने र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न प्रशासन कार्यालयले पनि सघाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ध्यानाकर्षण सहितको ज्ञापन पनि बुझाएका छन्।

जसमा इनरह्वील क्लब अफ पर्वत, लायन्स क्लब अफ कुस्मा सिटी, महिला मावन अधिकार रक्षक सञ्जाल पर्वत, सिसेफ महिला समूह, महिला उद्यमी समिति, व्यूटिसियन सङ्घ, सुनचाँदी व्यवसायी महिला समूह, होटेल व्यवसायी सङ्घ लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।

हस्तक्षेप हैन अराजकता नियन्त्रण : प्रजिअ

प्रजिअ अधिकारीले प्रशासनले सांस्कृतिक पर्व तिजलाई हस्तक्षेप गर्न नभई पर्वको नाममा समाजमा हुने अराजकता नियन्त्रण गर्नको लागि सूचना जारी गरेको बताइन्। ‘तिज पर्व मनाउन कुनै अवरोध हुँदैन, गर्न खोजेको पनि होइन।’ उनले भनिन, ‘तिजका नाममा हुने खर्च, गहनाको प्रतिस्पर्धा, ध्वनि प्रदूषण लगायतले अरूलाई प्रत्यक्ष÷अप्रत्यक्ष असर पार्ने भएकोले भड्किलो तरिकाले मनाउने कुरालाई नियन्त्रण गर्न खोजेका हौँ।’

प्रशासन कार्यालयले तिजलाई शान्तिपूर्ण र सांस्कृतिक रूपमा मनाउन कुनै अवरोध नगर्ने भन्दै उनले तिजलाई सभ्य र संस्कृति पर्वको रूपमा लैजान सबैको सहयोग चाहिने बताइन्।

प्रशासन कार्यालयको सूचना जारी भए लगत्तै सामाजिक सञ्जालहरूमा पनि दुई खाले बहस देखिएका थिए। कतिपयले सांस्कृतिक रूपमा मनाउँदै आएको तिजमा प्रशासन कार्यालयले अनावश्यक अहस्तक्षेप गरेको, राति १२ बजेसम्म होटेलमा मदिरा सेवन गरी होहल्ला गर्दै घरमा गएर श्रीमती कुट्ने पुरुषलाई कानुन लगाउनुको सट्टा तिज मनाउन नाच्ने र गाउनेहरूलाई कानुन लगाएको, जिल्ला प्रशासन कार्यालयले आफ्नो काम र शक्ति प्रदर्शन गर्न खोजेको लगायतका आरोप लगाएका थिए।

अर्को पक्षले भने श्रीमानले विदेशमा पसिना बगाएर कमाएको पैसाले तिजका नाममा एक महिना अगाडिदेखि दर खाएर फजुल खर्च गर्ने गरेको, हुने खानेहरुले गरगहना प्रदर्शन गरेर हुँदा खानेहरूलाई हेपेको, दरका नाममा मादक पदार्थ समेत सेवन गर्ने गरेको लगायतका संस्कृति बाहिरका कुरालाई नियन्त्रण गर्न महत्त्वपूर्ण कदम चालेको भनी लेखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.