|

डिस्कभरी नेटवर्कको प्रसिद्ध कार्यक्रम म्यान भर्सेस वाइल्डको विशेष एपिसोडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फिचर गरिने भएको छ। मोदी बेलायती प्रस्तोता वियर ग्रिल्ससँगै टेलिभिजनमा झुल्कनेछन्। उत्तराखण्डको जिम कोर्बेट नेशनल पार्कमा उक्त कार्यक्रम खिचिएको हो।

प्रस्तोता ग्रिल्सले हाल आक्कलझुक्कल मात्र नयाँ अंक उत्पादन गर्ने गरेका छन्। सन् २०११ बाट कार्यक्रमको उत्पादन बन्द भएयता टेलिभिजनमा पुरानै अंक पुनर्प्रसारण हुँदै आएका छन्। सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई लिएर विशेष कार्यक्रम बनाएका उनले यसपाली मोदीसँग सहकार्य गरेका हुन्। वातावरणीय सुरक्षामा जनचासो बढाउन विशेष कार्यक्रम निर्माण गरिएको ग्रिल्सले बताए।

वातावरणीय परिवर्तन र वन्यजन्तु संरक्षणमा मोदीको चासो

ग्रिल्सले मोदीलाई आत्मरक्षाको तौरतरिका सिकाइरहँदा उनीहरुबीच वातावरणीय परिवर्तन र वन्यजन्तु सुरक्षाबारे पनि चर्चा हुनेछ। भारतले बाघको संख्या दोब्बर बनाएर हालैमात्र बन्यजन्तु संरक्षणको क्षेत्रमा ठूलो सफलता हात पारेको छ।

कार्यक्रममा मोदीले आफ्नो हिमाली क्षेत्रको बसाइबारे पनि चर्चा गर्नेछन्। किशोरावस्थामा उनले भारत तथा नेपालका हिमाली क्षेत्रमा अध्यात्म–साधना गरेका थिए। उनले उक्त साधनमार्फत आफ्नो जीवनमा आएको परिवर्तनबारे जानकारी गराउनेछन्।

बाघ मार्ने तरिका सिकाउनेछन् ग्रिल्सले मोदीलाई

उक्त विशेष टेलिभिजन श्रृंखलाको प्रोमो सार्वजनिक भइसकेको छ, जसमा ग्रिल्सले मोदीलाई बाघ मार्ने तरिका सिकाइरहेको देख्न सकिन्छ। 'तपाईं भारतको महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ, तपाईंको सुरक्षा गर्नु मेरो दायित्व हो,' मोदीको हातमा चक्कु र लठ्ठीको मद्दतले बनाइएको हतियार थमाउँदै ग्रिल्स भन्छन्, 'यदि बाघ आइहाल्यो भने यसले तपाईंको रक्षा गर्नेछ।' जवाफमा मोदीले भने 'आफ्नो संस्कारले कसैको ज्यान लिन अनुमति नदिने' बताउँछन्।

कान्छा सगरमाथा आरोही थिए ग्रिल्स
धेरैलाई थाहा नहुनसक्छ, वियर ग्रिल्स सगरमाथा आरोहण गर्ने कान्छा पर्वतारोही थिए। तर यो रेकर्ड अब उनको नाममा छैन। उनलाई १९ वर्षका दुई किशोरले पछाडि पारिसकेका छन्। भिडियोमा ग्रिल्सले मोदीसमक्ष आफ्नो आरोहण अनुभव सुनाइरहेको देख्न सकिन्छ।

'मैले सगरमाथाको टुप्पोमा पाइला टेकें, त्यसपछि घर गएर आमालाई सगरमाथा विजयको फोटो देखाएँ। 'थाहा छ मेरी आमाले के भन्नु'भो?,' ग्रिल्स मोदीलाई प्रश्न गर्छन्, 'लौ, कपाल के गरेको त्यो? किन नकोरेको, अरे! संसारभरीका आमाहरु यस्तै हुन्छन्, हैन त!'

सामाजिक सरसफाइबारे ग्रिल्सको चासो

कार्यक्रममा ग्रिल्सले भारतीयहरुको सरसफाइ चेतनाबारे मोदीसँग छलफल गरेका छन्। प्रोमोमा मोदीले भनेका छन्, 'बाहिरका मान्छे आएर हाम्रो देश सफा गर्दिने कुरा भएन, यहीँका मान्छेहरुले गर्नुपर्‍यो। व्यक्तिगत सरसफाइको कुरा गर्ने हो भने यो हाम्रो संस्कृतिकै अभिन्न पक्ष हो, तर अब हामीले सामाजिक सरसफाइतर्फ पनि बानी विकसित गर्नु छ। यस विषयमा महात्मा गान्धीले ठूलो योगदान दिएका थिए। मलाई आशा छ, हामीले छिट्टै यसमा सफलता हासिल गर्नेछौं।'

कहाँ र कहिले हेर्न सकिन्छ उक्त टेलिभिजन कार्यक्रम?
प्रधानमन्त्री नरेन्द्र मोदीलाई फिचर गरिएको 'म्यान भर्सेस वाइल्ड'को विशेष अंक डिस्कभरी च्यानल, डिस्कभरी वर्ल्ड, एनिमल प्लानेट, टिएलसी, डिस्कभरी साइन्स र डिस्कभरी टर्वोबाट सोमबार बेलुकी सवा ९ बजे एकैसाथ प्रसारण हुनेछ। उक्त कार्यक्रम विभिन्न ८ भाषामा प्रशारण हुने डिस्कभरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.