|

काठमाडौं : दश दिन लामो सिंगापुर बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देश फर्किएका छन् । उनले त्यहाँ राम्रो उपचार गरेर स्वदेश फर्किएको प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन्।

सिंगारबाट फर्किएको केही घन्टापछि ट्वीटरमार्फत् आफू स्वस्थ रहेको जानकारी प्रधानमन्त्रीले पनि दिएका छन्। उनले ट्वीटरमा भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्यस्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नुहुने सबै दिदीबहिनी-दाजुभाइलाई धन्यवाद दिन चाहन्छु।‘

स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा सोमबार मध्यान्ह १२ बजे स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओली थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका थिए।

स्वास्थ्योपचार र निजी भ्रमण भएको भन्दै प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेनन्। साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए।

उनी गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बढी बसेर स्वदेश फर्केका हुन्। सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा  ओलीको स्वास्थ्य परीक्षण भएको हो। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.