साँघुरो ठाउँमा प्रदर्शनले अनेकौं हैरानी

|

काठमाडौः जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न आउनेलाई तीनकुने र  रत्नपार्कको शान्तिबाटिका दिने गरेको छ। तर अनुमति लिएर पनि प्रदर्शनकारी अन्तिममा माइतीघर मण्डल र भद्रकाली क्षेत्रमै पुगेर नाराबाजी गर्छन्।

जिल्ला प्रशासन कार्यालयमा दैनिक एक दर्जन भन्दा बढी संघ संस्थाहरु विभिन्‍न माग सहित प्रदर्शनका लागि स्थान उपलब्ध गराउन अनुमतिका लागि आउने गरेका छन्। माइतीघर मण्डलमा प्रदर्शनको अनुमति नदिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नागरिकलाई सरकारप्रति असन्तुष्टि र आफ्ना आवाज सुनाउने स्थानका रुपमा तीनकुने र रत्नपार्कको शान्तिबाटिका तोकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य बताउँछन्।

उनका अनुसार काठमाडौंमा विरोध र असन्तुष्टि पोख्ने ठाउँ पहिले खुलामञ्च थियो। खुलामञ्चमा भौतिक संरचना निर्माण सामग्री राखिएपछि यो ठाउँमा प्रदर्शन बन्दभएका छन्। तर प्रदर्शनकारीले एकातिर अनुमति लिएर अर्कैतिर विरोधका कार्यक्रम गरिरहेका छन्।

'प्रदर्शन गर्ने अनुमति एक ठाउँमा मागेर अन्त्यमा माइतीघरमा प्रदर्शन हुन्छ। राज्यलाई ढाँटेर प्रदर्शन गर्ने गरिएको छ', उनले भने। माइतीघरमा विरोध गर्दा मात्रै कार्यक्रम सफल हुने धेरैको बुझाइ छ।

माइतीघरको कार्यक्रम राज्यले सुन्‍ने ठानेर प्रदर्शनकारी त्यहीँ ओइरिन्छन्। प्रशासनले माइतीघरमा यातायात अवरोध, ठूलो लगानीमा निर्माण गरिएको मण्डल र सुन्दर उद्यान बिग्रने तथा साँघुरो भएकोले अनुपयुक्त ठहर गरेको हो  उनी थप्छन्, 'सिंहदरबारमा आउनेजाने अतिथिका लागि बाधा नपुगोस् भन्ने उद्धेश्यले पनि माइतीघर निषेधित क्षेत्रमा राखिएको हो।'

'तीनकुनेमा गर्नु भन्दा अनुमति माग्‍न आउनेले रुचि राख्दैनन,' आचार्यले भने,' माइतीघर प्रदर्शनकारीलाई केन्द्र भयो। त्यही भएर उनीहरुले जर्बजस्ती गर्छन्।' नियम तोडने बानीले उनीहरुले त्यसो गरेको हुनसक्ने उनले प्रतिक्रिया दिए। आचार्यका अनुसार यो साँघुरो ठाउँमा अफ्टेरो काम भएको छ ।

काठमाडौं उपत्यकामा हुने विरोधका कार्यक्रमले नागरिकको दैनिकीमा प्रत्यक्ष असर गरिरहेको उनले बताए। 'समयमा कर्मचारी कार्यालय  पुग्दैनन्। कार्यालयका महत्वपूर्ण काम हुन्छन', उनले भने, 'प्रदर्शनले गर्दा सवारी साधनले रुट नै परिवर्तन गरिरहनु परेको छ।'

प्रर्दशनकारीमा सवारी साधन रोक्दा माग पुरा भइहाल्छ भन्‍ने भ्रम रहेकाले माइतीघरलाई छनोट गरेको हुन सक्ने उनले बताए। 'लोकतन्त्रमा प्रदर्शनको अधिकार सबैलाई छ', उनले भने, 'तर विवेक पुर्‍याएर अधिकारको प्रयोग गर्न सके सबैको भलो हुन्छ।'

'माइतीघरले काठमाडौं उपत्यकाको मात्र प्रतिनिधित्व गर्दैन। सिङ्गो देशको प्रतिनिधित्व गर्छ', उनले थपे, 'त्यहाँबाट देशी विदेशी पाहुना पनि हिँड्ने भएकोले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नराम्रो सन्देश गइरहेको छ।'

नागरिकको वाक स्वतन्त्राका लागि खुलामञ्च तोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए। उनका अनुसार खुलामञ्चमा दरबार हाई स्कुलको निर्माण सामग्री राखिएको छ। पुरानो बसपार्क खुलामञ्चमा सारिएको छ। केही समयको लागि नागरिकको लागि स्वतन्त्र रुपमा आवाज राख्ने ठाउँ नभएको उनले बताए। 

नागरिकका असन्तुष्टिका माग राख्न खुलामञ्च महानगरले तोकेको स्थान रहेको डंगोलको भनाइ छ। महानगरले चाँडै खुलामञ्च खाली गरेर नागरिकको भेला हुने अधिकारको सुनिश्चिता गरिने उनले बताए। माइतीघरको प्रदर्शनले उपत्यकावासीलाई नकारात्मक असर गरिरहेको उनले बताए। 'यसले त प्रदर्शनकारी स्वयम्लाई असर गर्छ', उनले भने, 'प्रदर्शनकारीका आफन्त बिरामी बोक्ने एम्बुलेन्स पनि रोकिन्छन्।' 

जिल्ला प्रशासनले काठमाडौंको सुरक्षालाई ध्यानमा राखेर शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, माइतीघर, सिंहदरबार, उपराष्ट्रपति निवास लगायत काठमाडौँ महानगरपालिकाका केही स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको थियो ।

ती स्थानको विकल्पमा सरकारले विरोध प्रदर्शनका लागि खुलामञ्च, तीनकुनेको खुला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, शान्तिबाटीका, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला चौर र गौशालास्थित सिफल चौरलाई तोकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.