|

दाङ : जिल्ला निर्वाचन कार्यालय दाङले उपनिर्वाचनको तयारीलाई तीव्र पारेको छ। निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेसँगै दाङमा उपनिर्वाचनको तयारीलाई तीव्रता दिइएको हो।

उपनिर्वाचनका लागि कार्यालयले गर्ने तयारीलाई तीव्र बनाइएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए। उनले निर्वाचनको आवश्यक तयारीका लागि जिल्लाको जनशक्ति पूर्णरुपमा खटिएको बताए। उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले अहिले मतदाताको नामावली रुजु गरिरहेको उनको भनाइ छ।

निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली संकलन बन्द गरेर रुजु गर्ने काम भइरहेको कार्यालयका सूचना अधिकारी कँवरले बताए।

जिल्लाभरी मतदाता नामावलीमा दर्ता भएको संख्या ३ लाख ६३ हजार ७ सय ३७ जना रहेको कार्यालयले जनाएको छ। दाङमा हुने दुई पदको निर्वाचनको लागि ३४ वटा मतदानस्थल तोकिएको छ। उपनिर्वाचन हुने प्रदेशसभा सदस्य ३ ‘ख’ मा हाल सम्ममा ७० हजार ७ सय ८९ जनाले मतदात रहेको सूचना अधिकारी कँवरले बताए।

त्यसैगरी, घोराही उपमहानगरपालिका १६ मा ४ हजार ५७१ जनाले मतदाता रहेको उनले बताए। निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेसँगै दाङमा हुने उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी पनि बढेको छ। प्रदेश सदस्यको लागि एउटा र वडा अध्यक्षको लागि एक पदका लागि दाङमा निर्वाचन हुँदै छ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’ र घोराही उपमहानगरपालिका १६ मा उपनिर्वाचन हुँदैछ। प्रदेश सदस्य उत्तर कुमार वलीको सवारी दुर्घटनामा परी मृत्यु भएपछि दाङ ३ ‘ख’ रिक्त रहेको छ भने घोराही १६ का वडा अध्यक्षको रोगका कारण मृत्यु भएपछि वडा नम्बर १६ अध्यक्षविहीन छ। जिल्लामा हुने दुई पदको निर्वाचनका लागि अहिले राजनीतिक दलहरुले चुनावी कसरत सुरु गरेका छन्।

जिल्लामा क्रियाशील राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनको लागि गतिविधिहरु समेत बढाउन थालेका छन्। उपनिर्वाचनको लागि तयारी हुँदै गर्दा उम्मेदवारका आकांक्षीहरुको नाम सार्वजनिक हुने क्रम बढेको छ।

उम्मेदवारको चर्चा सुरु भएपछि यहाँका राजनीतिक दलहरूलाई चुनावी सरगर्मीले तातिएका छन्। नेपाल कम्युनिस्‍ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी फोरमलगायत दलहरु उपनिर्वाचनको लागि सक्रिय देखिएका छन्।

सुरु भयो उम्मेदवारको चर्चा

विशेष गरेर ठूला दुई दलमा उम्मेदवारका आकांक्षी पनि धेरै नै देखिएका छन्। नेकपाको तर्फबाट स्वर्गीय प्रदेशसभा सदस्य उत्तर कुमार ओलीकी श्रीमती विमला वली, पुराना नेता शोभाराम बस्नेत, जिल्ला सदस्य हुकुम बस्नेत लगायतको नाम उम्मेदवारका लागि चर्चामा छ।

त्यसै गरेर नेपाली कांग्रेसमा आकांक्षीहरुको पनि लामै सूची देखिन्छ। उपनिर्वाचनको उम्मेदवारका लागि कांग्रेस क्षेत्र नं ४ का सभापति जगत बहादुर खड्का, महासमिति सदस्य खिमप्रसाद खराल, केशव आचार्य, जिल्ला सचिव शंकर डाँगी, सुरेश हमाल लगायतको नाम बढी चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.