|
प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्योपचार गराएर सोमबार फर्किए। उनी दिउँसो करिब साढे १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए।

ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापासँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका मन्त्री, सांसद, नेता र कार्यकर्ता उल्लेख्य संख्यामा त्रिभुवन विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न महरा, तिमिल्सिना, पोखरेल र नेम्वाङसँगै नेता गौतम पनि त्रिभुवन विमानस्थलको भिभिआइपी कक्षबाट निस्किएका थिए। सेनाको कडा सुरक्षाबीच गौतम अन्य नेतासँगै हँसिलो चेहरामा गफ गर्दै स्वागतस्थल पुगेका थिए।

गौतमको उपस्थितिलाई देखेर नेकपा र सरकारका बारेमा समाचार लेख्दै आएका त्यहाँ उपस्थित पत्रकारबीच मुखामुख भएको थियो। उनीहरू गौतमको उपस्थितिलाई लिएर त चकित नै थिए, झन् उनको मुहारमा रहेको सुखानुभूति र मन्द मुस्कानलाई लिएर झनै चकित भनेका थिए। उनीहरू अनुभवका आधारमा भन्दै थिए-वामदेवको यो उपस्थितिले नेकपाभित्र र स्वयम् वामदेवबारे धेरै कुरा बोल्छ।

ओलीको स्वागतमा वामदेवको उपस्थितिको पहिलो सन्देश

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पनि हुन्। नेकपामा अर्का अध्यक्ष पनि छन्, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। सरकारको नेतृत्वमा रहनुका साथै अध्यक्षको एक नम्बरमा रहेकाले ओलीको शक्ति प्रचण्डको भन्दा बढी छ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपामा एकताप्रक्रिया अन्तिम चरणमा पुगेको छ। एकतालाई अन्तिम रूप दिने भनेर भोलि मंगलबार ९ सदस्यीय सचिवालयको बैठक यसअघि नै आह्वान भइसकेको छ।

भोलि बस्ने बैठकले राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहाकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनसंगठनको एकीकरण र जिम्मेवारी निर्धारण गर्नेबारे अन्तिम निर्णय लिने सम्भावना छ। भलै, प्रधानमन्त्री तथा अध्यक्ष ओली आजमात्र स्वदेश फर्किएकाले गृहकार्य हुन नसकेको भन्दै पार्टी एकता भोलि नै नटुंगिने सम्भावना पनि उत्तिकै छ।

पार्टीभित्र शक्तिशाली मानिएको संगठन विभागमा आफू पक्का भएको बताउँदै आएका छन्, वामदेव गौतम। उनलाई संगठन विभागमा अध्यक्ष प्रचण्डले समर्थन गरेको र अध्यक्ष ओलीले '‌ओके' भनेको कुरा पनि सार्वजनिक भइसकेको छ।

सचिवालय सदस्यहरूले नेतृत्व गर्ने विभागहरूको करिबकरिब टुंगो यसअघि नै लागिसकेको थियो। तर, स्कुल विभागमा सचिवालय सदस्य द्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरेकाले घोषणा हुन सकेन।

खासगरी स्कुल विभागमा पूर्वएमालेको तर्फबाट पोखरेललाई अगाडि सारिएकाले अध्यक्ष प्रचण्डलगायत पूर्वमाओवादीले असन्तुष्टि जनाएका थिए। जसका कारण विभागको नेतृत्व तय गर्न ढिलाइ भएको हो।

यो पृष्ठभूमिमा विश्लेषण गर्दा यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओली विदेश भ्रमणमा जाने र फर्किने बेला विमानस्थल नपुग्ने गौतमको आजको उपस्थितिले महत्त्वपूर्ण सन्देश दिएको छ।

उनलाई कतिपय नेकपाका नेताहरूले ओली खेमामा गएको अड्कल काटेका छन्। उनलाई पूर्वएमाले वृत्तमा अध्यक्ष प्रचण्डको पक्षमा लागेको आरोप लाग्दै आएको थियो। त्यो आरोपबाट मुक्त हुन र नयाँ सन्देश दिन पनि गौतम प्रधानमन्त्री ओलीको स्वागतमा विमानस्थल पुगेका हुन् भन्न थालिएको छ।

अर्को सन्देश- श्रीमतीलाई मन्त्री बनाउने

लामो समयदेखि ओली सरकार पुनर्गठनको चर्चा चलिरहेको छ। प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग के कति काम गरेको भनेर र आगामी दिनमा के गर्ने भन्‍नेबारे प्रष्टीकरण लिइरहेको सार्वजनिक भएको थियो। प्रधानमन्त्रीले मन्त्रीहरूसँग करार सम्झौता पनि गरेका थिए।

यो सबै मन्त्रिपरिषद पुनर्गठनका लागि हो भनेर चर्चा पनि भयो। खाली रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगै काम गराइमा कमजोर देखिएका मन्त्रीहरूलाई हटाएर नयाँ ल्याउने चर्चा नेकपाभित्र र बाहिर पनि व्यापक थियो।

सम्भावित मन्त्री हुने सांसदहरूको सूची पनि नेकपा भित्रैबाट संचारमाध्यममा चर्चाका लागि चुहाउने गरिएको थियो। तर, प्रधानमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेशकुमार भट्टराईलाई नियुक्त गरे। जसले मन्त्रिपरिषद पुनर्गठनको चर्चा सेलायो।

नेकपाभित्र फेरि मन्त्रिपरिषद पुनर्गठनको चर्चा सुरु भएको छ। नयाँ मन्त्री बन्न लागेका भनिएकाको सूचिमा वामदेव गौतमकी श्रीमती प्रतिनिधिसभामा सांसद तुलसी थापा गौतम पनि रहेको बताइएको छ।

वामदेवकी श्रीमती तुलसीलाई महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनेबारे कुरा भइरहेको स्रोतले जनाएको छ। हाल मन्त्री रहेकी थममाया थापालाई हटाउने तयारी भइरहेको दाबी नेकपा श्रोतको छ। यसबारे प्रधानमन्त्री निकट स्रोतलाई सोध्दा उनले अश्वीकार गरेनन्।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न वामदेव जानुलाई नेकपाभित्र श्रीमतीलाई मन्त्री बनाउने विषयसँग पनि जोडेर हेर्न थालिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.