सिन्धुली : बाढी पहिरोका कारण पुष्पलाल (मध्य पहाडी) लोकमार्गको खुर्कोट–घुर्मी खण्डमा झन्डै चार करोड रुपैयाँ बराबरको क्षति भएको छ।
गत असार अन्तिमदेखि साउन पहिलो सातासम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोले ठाउँठाउँमा सडक, पुल भत्किँदा उक्त क्षति भएको हो। सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ५५ किलोमिटरमा ५० भन्दा बढी ठाउँमा पहिरो गएको, सडक भत्केको र पुलमा क्षति भएको पुष्पलाल (मध्य पहाडी) सडक योजना काभ्रे धुलिखेलले जनाएको छ।
बाढी पहिरोका कारण अवरुद्ध सडक वर्षा रोकिएपछि सामान्य रुपमा पहिरो पन्छाएर अहिले एक तर्फी सञ्चालन भइरहको मध्य पहाडी सडक योजना काभ्रे धुलिखेलका इन्जिनियर तथा सूचना अधिकारी ईश्वर कार्कीले बताए। ‘तत्कालका लागि पहिरो पन्छाएर एकतर्फी सडक खुला गरेका छौं । धेरै ठाउँमा धेरै ठूला पहिरो गएको छ। कति ठाउँमा त सडकको पिच नै भत्किएका छ,’ उनले भने, ‘यो सबै पहिरो सफा गर्न र सडक मर्मत गर्न ठेक्का लगाउने तयारी हुँदैछ।’
कतिपय ठाउँमा निर्माणाधीन सडकमा बाढी र पहिरोले क्षति गरेको छ। त्यस्ता ठाउँमा ठेक्का लिई काम गरिरहेका ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले उनीहरुलाई पत्राचार गरी मर्मत गर्न आग्रह गरिएको उनले बताए।
निर्माण पूरा भएको ठाउँको पहिरो पन्छाउन ठेक्का लगाउने तयारी भइरहेको छ। खुर्को–घुर्मी सडक खण्डमा खसेको पहिरो पन्छाउन ८० लाख रुपैयाँ बराबरको ठेक्का लगाउने तयारी भइरहेको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।