|

धरान : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा आयोजना हुने भएको छ। पूर्वाञ्चल विकास क्षेत्रको धरानमा आयोजित सातौँ राष्ट्रिय खेलकुद परिषदको समापन समारोहमा २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सञ्चालन गर्ने घोषणा गरिएको हो।

समापन समारोहमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई राष्ट्रिय खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार विष्टले झण्डा हस्तान्तरण गरेका हुन्।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चिमाञ्चल विकास क्षेत्रले गर्ने तयारी भएपनि अन्तिम समयमा  मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई दिइएको हो। पश्चिमाञ्चल विकास क्षेत्रले २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो भने मध्यपश्चिमाञ्चल विकास क्षेत्रले २०५५ सालमा चौथो खेलकुद प्रतियोगिता आयोजना गरेको थियो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले रोल क्रममा आफूहरुको पालो भएपनि युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीको ठाडो हस्तक्षेपमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा प्रतियोगिता गर्न लागिएको बताए। मन्त्रीको नांगो हस्तक्षेपमा मध्यपश्चिमलाई दिइयो, रोल क्रमको हिसाबले हाम्रो पालो थियो, १३ औं साफ गेम पोखरामा हुने भएकाले त्यसको तयारीका लागि पनि हामीलाई आयोजना गर्न दिनुपर्थ्यो' उनले भने।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने स्थान तय गर्न बिहीबार साँझ र शुक्रबार बिहानसम्म पनि राष्ट्रिय खेलकुद विकास समिति र क्षेत्रीय खेलकुद विकास समितिहरुको बैठक बसेपनि निश्कर्षमा पुग्न सकेको थिएन। परिषदले मध्यपश्चिमाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्रलाई आयोजनाको विषयमा सहमति गर्न आग्रह गरेको थियो। तर सहमति नहुँदै मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई आयोजक तोकिएको हो।

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले सन् २०१९ मा हुने तेह्रौं दक्षिण एसियाली खेलकुद काठमाडौं र पोखरामा सञ्चालन हुने भएकाले राष्ट्रिय खेलकुद आफूहरुले दावी गरेको बताए। 'खेलकुदमा समान अवसरका लागि हामीले दावी गरेका थियौं, त्यही अनुसार निर्णय भएको छ हामी खुशी भएका छौं' उनले भने। 

पश्चिमाञ्चल क्षेत्र र आफूहरुका लागि पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पाउनु दोश्रो अवसर रहेको भन्दै उनले दक्षिण एसियाली खेल काठमाडौं र पोखरामा हुने भएकाले दुवै खेल पोखरामा हुनु हुँदैन भनेर आफूहरुले दावी गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.