
काठमाडौं : दोहाको आकाशमा जसै बाह्रौ दिनको चन्द्रमा देखियो, मञ्चको चम्किलो विशाल पर्दामा घडीको दृश्यसहित नेपथ्य प्रस्तुतिको संकेत सुरु भयो ।
मुस्लिम धर्मावलम्बीको पात्रोअनुसार अन्तिम महिनाको एघारौं र बाह्रौ दिन बलिदानको पर्व मनाइने गरिन्छ। यस दिनलाई मुसलमान धर्म मान्ने विश्वभरका मानिसहरुले पवित्र ‘इद अल अदा’ का रुपमा हर्षोल्लासपूर्वक मनाउने गर्छन्।
‘इद अल अदा’ अर्थात् बलिदानको पर्व वा यसलाई ‘इद कुर्बान’ भनेर पनि मान्ने गरिन्छ। यो इस्लाम धर्मावलम्बीहरुको वर्षभरिकै मुख्य दुइमध्ये एक उत्सव हो।
हजरत इब्राहिम (अब्राहम)ले इश्वरको आज्ञा पालन गर्दै आफ्नै छोरा हजरत इस्माइललाई बलिदान गर्न तयार भएको परिस्थितीको सम्मानमा यो पर्व मनाउने गरिएको छ। यद्यपि छोराको बलिदान दिनुअगावै इश्वरले भेडा प्रदान गरेर बली चढाउन लगाएको मान्यता छ। इश्वरले यसरी हजरत इब्राहिमका छोरालाई जीवनदान दिएको उपलक्ष्यमा पशुको वलिदान गर्दै यो पर्वलाइ मनाउँदै आइएको छ जसमा वलीको एउटा हिस्सा गरिब र खान नपाउनेलाई वितरण गर्नुपर्ने हुन्छ, अर्को घरमा राखिन्छ भने तेश्रो हिस्सा चाहिँ आफन्तलाई बाँड्नुपर्ने प्रचलन छ।
दोहाको ‘एशियन टाउन एम्पिथिएटर’को मञ्चमा आइतबार बेलुकी चढ्ने बित्तिकै हजारौं दर्शकको कोलाहलका बीच नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुरुमा एकछिनसम्मै चन्द्रमातर्फ हेरे। ‘बहुसाँस्कृतिक विविधताले यो संसारलाई नै एउटा रमाइलो गाउँ बनाएको छ,’ आकाशतिर सोझिएको नजर अगाडिको दर्शक दिर्घामा घुमाउँदै उनले भने, ‘आफ्नो कक्षमा बाह्रौ दिन यात्रा गरेपछि यो चन्द्रमाले मुसलमान समुदायमा इद पर्व ल्याइरहेको छ भने अबको तीन दिनमा यसै चन्द्रमाले पूर्ण आकार लिएर हाम्रो हिन्दूबहुल नेपाली समुदायमा भने जनैपूर्णिमा ल्याइदिनेछ।’
अमृतले गाउन सुरु गर्नु अघि सम्पूर्णलाई ‘इद मुबारक’ भन्दै आफूले तमाम दर्शकको निम्ति जनै पूर्णिमाको शुभकामना पनि बोकेर ल्याएको जानकारी गराए। ‘जनै पूर्णिमाको बेला नेपालका धेरै मानिस लाङटाङ क्षेत्रमा पर्ने गोसाइकुण्डको तीर्थ गर्न जाने गरेका छन्,’ उनले थपे, ‘आजको कन्सर्टको सुरुवात हामीले त्यसै क्षेत्रबाट संकलन गरेर तयार पारेको गीतबाट गर्दैछौँ।’ त्यसपछि जसै दोहाको उखरमाउलो गर्मीमा अमृतले ‘भेडाको उनजस्तो’ गाउन सुरुगरे, गीतले हजारौं दर्शकमा उत्साहको सञ्चार गराएको देख्न सकिन्थ्यो।
त्यसपछि कन्सर्टमा लगातार नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘छेक्यो छेक्यो’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’ जस्ता गीतहरु बजेका थिए। अबको गीत भने अमृतले कतारमा संघर्ष गरिरहेका तन्नेरीहरुलाई उनीहरुका प्रियहरुको सन्देशका रुपमा सुनाउन चाहे।
‘मै मरि जाउँला जीवन छोट्टो छ
लेखेको सम्झना चेत्तेर नफाल
सिरानमा फोटो छ’
केहि वर्षअघि तयार पारेको यो गीतलाई नेपथ्यले रोजगारीका निम्ति प्रवासिएका नेपाली कामदारमै समर्पित गर्दै म्यूजिक भिडियो तयार पारेको थियो। म्यूजिक भिडियो कमिक एनिमेशनमा आधारित छ। युट्युवमा नेपथ्यका गीतमध्ये सर्वाधिक हेरिएको र सुनिएको यस गीतमा खाडीको दूरदेशमा बसेर श्रम गरिरहेका तन्नेरी र नेपालको कतै पहाडमा बसेर उनलाई याद गरिरहेकी प्रियसीका भावहरु झल्काउन खोजिएको छ।
कन्सर्ट त्यसपछि फेरि ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’, ‘हामी नेपाली’, ‘यो जिन्दगानी’ हुँदै अघि बढेको थियो। त्यसपछि पूर्वी नेपालको पदयात्राका क्रममा संकलन गरिएको हाक्पारेमा आधारित ‘कोशीको पानी’ हुँदै ‘रेशम’ सम्म पुगेपछि देशप्रेमका गीतहरुको क्रम सुरु भएको थियो। ‘गाउँ गाउँबाट उठ’ ‘हिमाल चुचुरे’, ‘मै नाचेँ छमछमी’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’मा पुगेर कार्यक्रम टुंगिएको थियो।
नेपथ्यले यो दोश्रोपटक आफूलाई दोहाको मञ्चमा प्रस्तुत गरेको थियो। २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्याण्डले आफूलाई पहिलोपटक यस भूमिमा उभ्याएको थियो।
‘यसरी परदेशमा आएर श्रम गरिरहेका नेपाली दाजुभाइहरुलाई देशको माया बोकेर आउन पाउँदा असाध्यै हर्ष लाग्छ,’ गायक अमृतले भने, ‘सँधै जस्तै हामीले नेपाली माटोबाटै उब्जिएको लोकभाकामा आधारित सिर्जनाहरु दाजुभाइहरुलाइ बाँड्न पाएकोमा खुशी लागेको छ।’
कतारमा कन्सर्टको आयोजक मध्येको, ‘लेभल एफएन एडभर्टाइजिङ एण्ड इभेन्ट’ का लक्ष्मणप्रसाद चौलागाईंले भने 'नेपथ्यको उपस्थितिले हामी कतारबासी नेपालीलाइ एकजुट हुने मौका उपलब्ध दिलायो। कार्यक्रमको सफलताले हामी सम्पूर्ण आयोजक तथा नेपथ्य प्रेमी दर्शकमा उर्जा थपिदिएको छ।' दोहा को यो कार्यक्रमलाई लेभल एफएन एडभर्टाइजिङले, कास्की आदर्श सेवा समाज र राम नगर ठिमुरा समाजको सहआयोजनमा सम्पन्न गरेका हुन्।
सधैँजस्तै दोहामा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरू ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।