|

काठमाडौं : संविधानमा समाजवाद उन्मुख लेखेर सरकारले त्यसै अनुसारको अव्यावहारिक नीति लागू गरेको कारण अर्थतन्त्र संकटग्रस्त भएको राप्रपा (संयुक्त) ले ठहर गरेको छ। विकल्पको रूपमा सो पार्टीले कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नु पर्ने प्रस्ताव गरेको छ। राप्रपा (संयुक्त) सम्बद्ध स्वतन्त्र बुद्धिजीवि मञ्चको आयोजनामा मंगलबार सम्पन्न ‘नेपालको विकास र संमृद्धिका लागि समाजवादी अर्थनीति कि लोककल्याणकारी उदार अर्थव्यवस्था?’ विषयक विचारमा यस्तो धारणा प्रस्तुत गरिएको हो।

‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डर लाग्दो छ। यसमा मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो। यसैकारण वैदेशिक लगानीमा कमी आएको हो' राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भने 'वैदेशिक लगानीकर्ताले लगानी गर्नु पूर्व लगानी गरिने संभावित देशको संविधान, वैदेशिक लगानी नीति, शान्ति सुरक्षा र सरकारको स्थिरताको राम्रो अध्ययन गर्छन्। नेपालको त संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखिएको छ।’

राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश खतम पार्ने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए। ‘नेपालमा समाजवाद छैन। होली वाइनको लुटपाट छ। समाजवादको विकृत प्रयोग गर्नेले माक्र्सको मानमर्दन गरेका छन्। होली वाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ, नेपाल बुढाबुढीको देश बन्दैछ' उनले भने 'उदारवाद नीति कतै छैन अनि कसरी विदेशीले नेपालमा लगानी गर्छन्। त्यसैले अब संघर्ष बाहेकको विकल्प छैन।’

त्यसैगरी, परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले  सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाए। 'चावहिल–वौद्ध तीन किलोमीटर सडक दुई वर्षमा बन्न सकेको छैन, हामी भने ठूला रेलमार्गका कुरा गर्दैछौँ' उनले भने 'रेलमार्गसँग आवश्यक सुरक्षा, व्यवस्थापन, अध्यागमन जस्ता महत्वपूर्ण पक्षबारे कतै चर्चा र तयारी छैन। नयाँ लगानीकर्ता आकर्षित गर्ने त परै जाओस् भएका लगानीकर्ता भ्रष्टाचार र प्रशासनिक जटीलताका कारण देश छोडेर गएका छन्। हामी व्यावहारिक हुन नसक्दा नेपालको समृद्धि र र विकास दिवास्वप्ना साबित भएको छ।’

छिमेकी भारतमा भारतीय जनता पार्टीको सफलताको उदाहरण प्रस्तुत गर्दै सम्बोधनकै क्रममा डा. पाण्डले परम्परागत मूल मान्यतामा अडिग कन्जरभेटिव शक्तिको नेपालमा पनि आवश्यकता र स्थान रहेको जिकिर गरे।

त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र विभागका पूर्वप्रमुख प्रा. सुबोध नारायण झाले देशमा सरकार नै नभएको अवस्थामा असाधारण परिवर्तन आवश्यक रहेको बताए। ‘भत्ता खाने सरकार छ तर जनताको सरकार छैन। जननिर्वाचित सरकार छैन। एक करोड युवा विदेशमा छन्, तिनलाई मतदान गर्न वञ्चित गरेर बनेको सरकारले भ्रष्टाचार र विसंगतिको ढेर लगाएको छ। त्यसकारण देशलाई भ्रदगोलबाट उन्मुक्ति दिन असाधारणा कदम आवश्यक भएको छ। जनता अब चुप लागेर बस्नेवाला छैनन्' प्रा. झाले भने।

व्यवस्थापन विज्ञ शिव अधिकारीले अर्थतन्त्र, व्यापार घाटा भयावह छ बताउँदै यस्तो अवस्थामा हामी संवेनदशील हुन जरुरी रहेको उल्लखे गरे। 'समाजवाद र समृद्धि भन्नेहरुले पनि नेपालको समृद्धि, विकास यही बाटोबाट प्राप्त हुन्छ भन्न सकेका छैनन्' उनले भने 'आर्दशले मात्र हुँदैन, व्यावहारिक निकास आवश्यक छ तर यतातिर ध्यान गएको छैन। यही नै विडम्बना हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.