अदालतले छाड्ना साथ प्रहरीले समाउँछ

|

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’ पुन: गिरफ्तार भएका छन् । योसँगै उनलाई प्रहरीले सोमबार चौथो पटक पक्राउ गरेको छ।

उनलाई छाड्न सर्वोच्च अदालतले तेस्रो पटक आदेश दिएको थियो। तर अदालतको आदेशसँगै जिल्ला प्रशासन कार्यालय प्युठानबाटै ओलीलाई सोमबार पुन: गिरफ्तार गरी अर्घाखाँचीको सन्धिखर्क लगिएको छ ।

लालबहादुरलाई बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै आइतबार रिहा गर्न सर्वोच्चले आदेश दिएको थियो । 

रिट निवेदनमाथि आइतबार भएको बहसमा न्यायाधीश मीरा खड्का र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशले ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो ।

४८ वर्षीय लालबहादुरलाई राज्यले गैरन्यायिक थुनामा राखेको भन्दै तत्काल रिहाइको मागसहित उनका पुत्र विनोदले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

रोल्पाको गंगादेव गाउँपालिका-३ का स्थायी बासिन्दा ओलीलाई प्रहरीले पटकपटक पक्राउ गर्दै आएको छ । विश्वसहित ३ नेतालाई गत वैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्रीमा गाडीबाटै गिरफ्तार गरिएको थियो ।

रोल्पामा प्रहरीले ओलीलाई संगठित अपराध र एनसेल टावर आगजनीसम्बन्धी मुद्दा लगाएको थियो । सर्वोच्च अदालतमा दोस्रोपटक परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै गैरकानुनी र प्रतिशोधको भावना राखी थुनामा राखेको भन्दै साउन १० गते दोस्रोपटक छाड्न सर्वोच्चले आदेश दिएको थियो । 

रिहा भएलगत्तै ओलीलाई जिल्ला अदालत रोल्पाको परिसरबाटै तेस्रोपटक पक्राउ गरि प्युठान लगियो। उनलाई जिल्ला प्रशासन कार्यालय प्युठानमा सार्वजनिक मुद्दा लगाइएको थियो ।

उनीसँगै गिरफ्तार सल्यानका चन्द्रबहादुर खड्का ‘असल’ र चुडामणि ओली ‘आदर्श’ यसआघि नै रिहा भएका छन् । उनीहरु दुवैजनालाई सुनसरी जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.