|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मातृभूमिलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन्।

मन्त्री ज्ञवालीले काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) लाई नेपालको आर्थिक समृद्धिका निम्ति सक्दो सहयोग गर्न आग्रह गरेका हुन्।

एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ चयन भएपछि मंगलबार साँझ राजधानीमा भएको एचसिसीएनको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी  नेपाली’को परिकल्पना साकार तुल्याउन एचसिसीएनका सबै सदस्यको सक्रिय सहयोगको अपेक्षा रहेको बताए।

नेपालको गरिमा अभिवृद्धिमा सक्दो योगदान गर्न आह्वान गर्दै मन्त्री ज्ञवालीले मातृभूमिको राष्ट्रिय स्वार्थ, सार्वभौमिकता, भौगोलिक अखण्डता र आर्थिक विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरेका थिए।

आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले देश विशेषमा केन्द्रित रहेर रणनीतिक योजना तर्जुमा गरी त्यो कार्यान्वयनको प्रक्रियामा गएको जानकारी पनि दिए।

नेपाललाई आर्थिक उन्नयनको मार्गमा अघि बढाउने पर्यटन, जलस्रोतलगायत क्षेत्रमा लगानी जुटाउने महत्वपूर्ण माध्यमका रूपमा  अवैतनिक वाणिज्यदूतहरूले काम गर्न सक्ने भएकाले नेपालको राष्ट्रिय हितको प्रवर्धनमा लाग्नुपर्नेमा उनले जोड दिएका थिए। साथै उनले एचसिसीएनका समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

डीन श्रेष्ठले नेपालमा लगानीका अवसरबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्ष सफल पार्न आफूहरू क्रियाशील रहेको जानकारी दिँदै एचसिसीएनको आजैको  बैठकबाट आगामी कात्तिक १६ देखि ३० गतेसम्म काठमाडौंमा विश्वभरका अवैतनिक वाणिज्यदूतहरूको सम्मेलन गर्ने निर्णय भएको जानकारी दिए।

भाइस डीन एवं मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले नेपालको सामाजिक–आर्थिक विकासका खातिर बाह्य सहायता जुटाउन तथा आफूहरूलाई नियुक्त गर्ने देशसँको नेपालको सम्बन्धलाई प्रगाढ तुल्याउने कर्तव्यबाट एचसिसीएन कदापि विमुख नहुने प्रण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.