|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र  सरावल गाउँपालिका जोड्ने सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन पाइएको छ। प्रदेश ५ सरकारको पाँच करोड रुपैयाँबाट भइरहेको कालोपत्रे गुणस्तरहीन पाइएको हो। कालोपत्रे गर्ने क्रम भइरहेका बेला भत्किन सुरु भएको छ। 

बर्दघाट नगरपालिका–८ सूर्यपुरादेखि सरावल गाउँपालिका–१ खोखरपुरा हुँदै अथ्रहट्टी जोड्ने तीन हजार ८०५ मिटर सडकमा नवीन कन्ट्रक्सनले कालोपत्रे गरिरहेको छ। कालोपत्रे सकिएका ठाउँमा उक्किन थालेको छ। कतिपय ठाउँमा सडक धस्किएर चिरा परेको छ। 

अहिलेसम्म तीन हजार ४०० मिटर सडकमा कालोपत्रे भइसकेको छ भने ४०५ मिटर बाँकी छ। निर्माण सम्पन्न नहुँदै कालोत्रे उक्किने र धस्किने भएपछि स्थानीयहरुले सम्बन्धित निकायलाई अनुगमन गरिदिन आग्रह गरेका छन्। 

ठेकेदारको धम्की

सरावल गाउँपालिका–१ खोखरपुराका झपेन्द्र चौधरीले बाटो भत्किसकेको र ठेकेदार पक्षलाई पटकपटक गुणस्तरमा ख्याल गर्न आग्रह गरे पनि बेवास्ता गरेको बताए। 

गुणस्तरहीन काम भएको थाहा पाएपछि नवीन कन्ट्रक्सनका सञ्चालक नवीन ज्ञवालीसँग सडकको प्राविधिक स्टेटमेट देखाउन माग गरे पनि नदेखाएको स्थानीयहरु बताउँछन्। उनले स्टेमेट देखाउन नमिल्ने भन्दै सडक निर्माणका सन्दर्भमा केही बोले काम रोकिदिने धम्की दिएको बर्दघाट नगरपालिका–८ का झविन्द्र सापकोटाले बताए। 

दायाँ–बायाँको खाडलमा बालबालिका डुब्ने खतरा

सडक कालोपत्रे गर्ने क्रममा बाटोको लेबल मिलाउन दायाँ–बायाँ दुवैतर्फबाट माटो निकाल्दा गहिरो खाल्डो बनेको छ। उक्त खाल्डोमा पानी जमेका कारण ससाना बालबालिका चिप्लिएर डुब्ने खतरा रहेको स्थानीयहरु स्थानीय कल्पना सापकोटाले बताइन्। 

सडक कालोपत्रे भएपछि घरभित्र पनि पानी पस्न थालेको सापकोटाको गुनासो छ। उनले भनिन्, ‘सडक बनेर विकास हुनुपर्नेमा झनै सास्ती खेप्नुपरेको छ।’

कन्ट्रक्सनको दाबी

निर्माण कम्पनी नवीन कन्ट्रक्सनका सुपरभाइजर सुनिल अधिकारीले कालोपत्रेको काम मापदण्डअनुसार नै भएको दाबी गर्छन्। भत्किएको ठाउँमा पुनः मर्मत गर्ने उनको भनाइ छ।

सडकको दायाँ–बायाँ भएका भने खाल्डो भएको उनले स्वीकार गरे। सडक धस्सिएको बारे भने कामका लागि कम्पनीको टिपर हिँड्दा धस्सिएको र सडक भत्किएको बताएका छन्। 

स्थानीयले भने स्टेटिमेटअनुसारको काम नभएकाले सडक कमजोर बनेको बताएका छन्। अहिले गरिएको कालोपत्रे मुस्किलले एक सेन्टिमिटर पनि उचाइ नरहेको स्थानीयको भनाइ छ। 

सरकारको चासो

सडकको कालोपत्रे गुणस्तरहीन भएको स्थानीयको गुनासो आएपछि प्रदेश ५ सरकारको पूर्वाधार विकास  कार्यालयले अनुगमन गर्ने भएको छ।

कार्यालयका प्राविधिकले तयार पारेको मापदण्ड बेस १० सेन्टिमिटर र कालोपत्रे दुईै सेन्टिमिटर उचाइ हुनुपर्ने पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन अफिसर ललित न्यौपानेले बताए। न्यौपानेले सडक कालोपत्रेको काम असार मसान्तसम्म सक्नुपर्ने भए पनि अलकत्रा अभावका  कारण समयमा काम हुन नसकेको भन्दै क्रमागत योजनामा राखेर काम अगाडि बढाइरहेको बताएका छन्। 

कालोपत्रे गुणस्तरहीन भएको जानकारी आएको भन्दै प्राविधिकसहितको टोली पुगेर अनुगमन गरिने न्यौपानेको बताए। तीन हजार ८०५ मिटर बाटो कालोपत्रे हुनुपर्नेमा जम्मा ३४ सय मिटर मात्र कालोपत्रे भएको भन्दै बाँकी कालोपत्रेका लागि बजेट थप गर्ने नगर्ने र योजनाको म्याद थप गर्ने नगर्ने विषयमा अनुगमनपछि मात्र निर्णय हुने न्यौपानेले बताए।

ठेक्का एउटालाई काम अर्कैलाई

कालोपत्रे गर्न रामग्राम नगरपालिका–५ को समीर कन्ट्रक्सनलाई ३ करोड १३ लाख ४० हजर २३१ रुपैयाँमा सम्झौता गरिएको थियो। समीर कन्ट्रक्सनले ३७.३२ प्रतिशत घटेर सडक कालोपत्रेको ठेक्का लिएको होे।

तर, समीर कन्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मा नवीन कन्ट्रक्सनलाई दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.