|

बैतडी : जडीबुटीहरूको राजा मानिने शीलाजीत बैतडीमा भने खेर गइरहेको छ। बैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शीलाजीत खेर गइरहेको हो।

शीलाजीतको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौंको शीलाजीत खेर गइरहेको हो। ठूल्ठूला भीरहरूमा गर्मीको महिना चुहिने शीलाजीतको उचित संकलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन्।

जिल्लाका धेरैजसो ठाउँमा शीलाजीत भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए। गाउँघरमा परम्परागत रूपमा भीरबाट स्थानीयले निकालेर शीलाजीत बनाउने गरेको तर यसलाई व्यावसायिक रूपमा शीलाजीतको उत्खनन र प्रशोधन गर्न राज्यका तर्फबाट हुन नसकेको उनको भनाई छ।

'शीलाजीत हरेक बिरामीका लागि उपयोगी छ' उनले भने  ‘शीलाजीतलाई हरेक रोगमा टोनिकको रुपमा प्रयोग गर्न सकिने, यसलाई चोटपटक लागेमा, शरीर दुख्ने समस्या भएको बिरामीका लागि बढी मात्रामा प्रयोग गर्ने गरिएको छ।‘

बजारमा शीलाजीत क्याप्सुलको रूपमा पाइने र त्यो निकै महंगो हुने बताइएको छ। जिल्लाका ठूलठूला भीर, चट्टान तथा ढुंगाहरू पग्लेर शीलाजीत निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरले जनाएको छ।

बैतडीको दशरथचन्द नगरपालिका १० झुलाघाट नजिकैको मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सुर्नयाको रौलेश्वर भीरलगायत ठूलाठूला भीरहरूमा शीलाजीतको खानी रहेको वरिष्ठ वैद्य कलौनीले बताए। शीलाजीत दुई किसिमको हुने कलौनीले भनाइ छ। भीरबाट संकलन गरेर ल्याएका शीलाजीतयुक्त ढुंगाहरूबाट दुई किसिमको शीलाजीत निकाल्न सकिने उनले बताए।

उनका अनुसार शिलाजीतलाई जडीबुटीहरूको राजा मानिन्छ। बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ। सूर्यको कीरणमा शीलाजीतयुक्त ढुंगा राखेर त्यसबाट शीलाजीत संकलन गरिएमा त्यसलाई सूर्यतापी शीलाजीत भन्ने गरिन्छ। शीलाजीतयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर संकलन गरेमा त्यसलाई अग्नीतापी शिलाजीत भन्ने गरिन्छ। भीरबाटै संकलन गर्न सके निकै शुद्ध शीलाजीत निस्कन्छ।

बैतडी जिल्लामा शीलाजीतसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको डिभिजन वन कार्यालयको तथ्यांक छ। शीलाजीतलाई पनि वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताए।

रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको निकै महत्व रहेको बताइन्छ। यौन दुर्लवता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछन्। विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरिक दुर्बलतालगायतका रोगहरू यसले निर्मूल बनाउने विश्वास गरिन्छ।

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो। संस्कृतमा पत्थरलाई शिला भनिन्छ। गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.