एमाले भन्छ- टेबल गर्न दिन्नौँ

|

काठमाडौं: प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले विरोध गरेपनि संसदमा एक महिनाअघि संसदमा पेश भएको संविधान संशोधन विधेयक टेबल गर्न सत्तारुढ कांग्रेस र मधेसी मोर्चा सहमत भएका छन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको बैठकले एमालेले विरोध गरेपनि अब बस्ने संसद बैठकमा सो विधेयक टेबल गरिछाड्ने निष्कर्ष निकालेको हो।

तर सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक राष्ट्रघाति भएकोले टेबल गर्न नदिने प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले बताए। उनले भने, ‘त्यो विधेयक पास गर्न हामी दिँदैनौं। त्यसलाई रोक्न सदन र सडकमा आन्दोलन गर्छौं।’

‘अब सोमबार वा मंगलबार बस्ने संसद बैठकमा संविधान संशोधन विधेयकलाई टेबल गर्छौं’, कांग्रेस नेता गोपालमान श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग भने ‘विधेयकसँगै निर्वाचन ऐन पनि टेबल गर्छौं।’ श्रेष्ठले विधेयक पास गराउन कांग्रेसले पूर्ण रुपमा कोशिस गर्ने समेत बताए। उनले भने पहिला विधेयक टेबल गर्छौं त्यसपछि केही दिनमा निर्वाचन मिति पनि घोषणा गर्छौं।’

एमालेले संसद अवरुद्ध नगरोस् भन्ने कांग्रेस र मोर्चाको चाहाना भए पनि उसले अवरुद्ध गर्‍यो भने पनि विधेयक टेबल हुने कुरा नरोकिने नेता श्रेष्ठले बताए। 
‘एमालेले अवरोध नै गर्‍यो भने पनि अघि बढ्छ। विगतमा पनि संसद अवरुद्ध भएपनि अघि बढ्ने गरेका इतिहास छन्’, श्रेष्ठले भने।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीको सहमतिमा सरकारले दर्ता गराएको बिधेयक भएकोले त्यसप्रति कांग्रेस उत्तिकै जिम्मेवार रहेको वताएको मोर्चा नेता राजकिशोर यादले बताए।

‘विधेयक दर्ता नगरी मुलुक अगाडि बढ्न सक्दैन र देश द्वन्द्वमा जान्छ। त्यसैले तपाईंहरुले कुनैं प्रकारको शंका नगर्नुस्’, कांग्रेस सभापति देउवाको भनाई उद्‍धृत गर्दै यादवले भने ‘जुन दिन हाउस (संसद बैठक) बस्छ, त्यसै दिन विधेयक संसदमा टेबल गर्छौं।’

संसदमा दर्ता भएको विधेयक पारित गर्ने नैतिक र राजनीतिक दायित्व कांग्रेसको भएकोले पास गर्न पनि कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता देउवाले व्यक्त गरेका थिए।

देउवाले मोर्चाका नेताहरुलाई हल्लाको पछि नलाग्न आग्रह गर्दै विधेयक टेबल नगरिकन स्थागन वा फिर्ता नहुने कुरामा ढुक्क हुन आग्रह गर्दै टेबल भएपछि भने निर्वाचन घोषणा हुने बताएका थिए। 

मोर्चाका नेताहरुले भने पहिले विधेयक पास गरेर मात्र कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका यादवले जसरी पनि टेबल गर्ने प्रतिवद्धता कांग्रेसबाट आएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.