कटहरीको सवस्टेसन अझै सञ्चालन भएन

|

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा यति बेला लो-भोल्टेलले आक्रान्त छ। गर्मी अत्यधिक हुँदा भोल्टेज कम हुँदा पङ्खा नचल्ने, एसी नचल्ने समस्या त छँदै छ, त्यसमाथि उद्योग धन्दा नचल्दा उत्पादन ठप्प भएको र दैनिक करोडौँको घाटा व्यहोर्नु परेको उद्योगी बताउँछन्। 

‘विराटनगरको टोटल बिजनेस कोरिडोर आक्रान्त बनेको छ,’ मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले भने, ‘विद्युत् प्राधिकरणको निकृष्ट काम भएको छ, बिल पठाउने र पैसा उठाउने मात्रै काम विद्युत् प्राधिकरणले गरिरहेको छ।’ मुन्दडाले जेनेरेटरको भरमा धेरै समय उद्योग चल्न नसक्ने बताए।

उनले कटहरी सब-स्टेसन सञ्चालन गर्न नसक्नुको पछाडिको कारण के हो भनी प्रश्न गरे। ‘अढाइकिलोमिटर समस्या भएको हामीले सुनेका छौँ,’ मुन्दडाले भने, ‘त्यो त प्रशासनसँगको सहमतिमा, वा विद्युत् प्राधिकरण आफैँले सुरक्षाको बन्दोबस्त गरेर सञ्चालन गर्नुपर्ने हो नि।’ 

उद्योगी व्यवसायीले उद्योगको ताला चाबी सरकारलाई बुझाउने बेला आएको बताए। औद्योगिक कोरिडोरमा दैनिक १ करोड बढीको नोक्सानी भइरहेको उनको दाबी छ। 

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले लोडसेडिङ र ट्रिपिङको कारण उद्योगी-व्यवसायी आक्रान्त भएको बताए।

रम्बार विद्युत् अवरुद्धताले एकतर्फ उत्पादनमा ह्रास आई कच्चा पदार्थ खेर गइरहेको छ भने अर्कोतर्फ उद्योगका मेसिनरी बिग्रनाले उद्योगमा ठूलो क्षति भइरहेको उनको दाबी छ।

‘विद्युतकोे अवस्थाका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन, उत्पादन लागत वृद्धि भइरहेको छ,’ उनले भने, ‘विद्युत्को समस्या समाधान छिटो होस्।’ सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा दैनिक दशदेखि १५ पटकसम्म विद्युत् कटौतीको समस्या रहेको उद्योगीहरू बताउँछन्। 

कटहरी सब-स्टेसन सञ्चालन भएन

लोभोल्टेजको समस्या समाधानका लागि विद्युत् प्राधिकरणले कटहरिमा ३३ केभिए सव-स्टेसन निर्माण गरेको छ। असारको पहिलो हप्ता परीक्षण सम्पन्न गरेर सञ्चालन योग्य रहेको बताएको प्राधिकरणले ग्रामथान-५ गिधनिया बस्तीमा भएको विद्युत् प्रसारण लाइन अझै बन्‍न सकेको छैन। स्थानीयले आफूहरूलाई समस्या हुने भन्दै गाडिसकेको पोलमा तार टाँग्‍न दिएका छैनन्। 

विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभिए दुहबी-कटहरी प्रसारण लाइन ल्याउन पोलसमेत गाडिसकेको छ। प्रसारण लाइन निर्माण भए कटहरी-१ स्थित महेशपुर खोरियामा रहेको सब-स्टेसनमा चार्ज हुने छ भने कटहरी क्षेत्रका उद्योग र ग्राहस्थ फिडरमा विद्युत् वितरण हुनेछ। 

उक्त स्टेसन सञ्चालन हुन सके विराटनगरमा हाल देखिएको लोभोल्टेजको समस्या हल हुने र कटहरी क्षेत्रका उद्योगलाई पनि राहत पुग्ने प्राधिकरणको भनाइ छ।

हाल विराटनगर रानी सब-स्टेसनबाटै कटहरी र विराटनगरमा विद्युत् आपूर्ति हुँदै आएको छ। रानी सब-स्टेसनले लोड धान्न नसक्ने भएको भन्दै प्राधिकरणले कटहरिमा सवस्टेसन निर्माण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.