|

जाजरकोट : जाजरकोटमा १० वर्षअघि जहाँतहीँ पाइने पानीका स्रोत अहिले कम हुँदै गएका छन्। जथाभावी सडक निर्माण र वनजंगल फडानी कारण पानीका स्रोत सुक्ने क्रम जारी रहेको छ।

विगतमा मुलबाट आउने पानीको मात्रा र अहिले आउँने मात्रामा व्यापक घटको स्थानीयको भनाइ छ। १० वर्ष पहिले घर नजिकै जंगल पाइथ्यो, अहिले जंगल पुग्न ४ घण्टाभन्दा बढी पुग्न पर्छ। त्यसमा पनि पातलो भएको कारण भनेको काम एकै छिनमा गर्न सकिँदैन्। जंगल र पानीको अभावकै कारण खेतीयोग्य जमिनमा खेती गर्न सकिएको छैन्। हिजोका दिनमा हराभरा भएको जंगल अहिले खाली रहेको छ।

स्थानीयले जंगल फडानी गरेर खेती गर्न जग्गा बनाए गरेपछि जंगल मासिएको हो। सामुदायिक वनको कमाउने धन्दा र वन कार्यालयको पहुँच नहुँदा यहाँका भारी वन मासिदै गएका छन्। जलवायु परिवर्तनको मुख्य मारमा परेको जाजरकोटमा अहिले जंगल जोगाउने भन्दा पनि अतिक्रमण गर्नेको संख्या अत्यधिक बढेको छ।

जथाभावी पशुचौपाय छाडा तरिकाले जंगलमा छाड्ने तर संरक्षणमा ध्यान नदिदा दैनिक माननीव क्रियाकलापको मारमा जंगल परेको डिभिजन वन कार्यालय, जाजरकोटले बताएको छ। जंगल मासिएसँगै पानीका स्रोतहरू कम हुँदै गएका छन्। वातावरणीय प्रभाव मूल्यांकल नै नगरी जथाभावी डोजरको बलमा बिना स्टामेट सडक निर्माण गरिँदा पानीका मूलहरू पुरिएका छन्।

 गाउँ-गाउँमा पानीबाट सञ्चालन भएका अन्न पिस्न प्रयोग हुँने पानी घट्टहरू समेत पानीको अभावमा लोप हुँदै गएका छन्। जिल्लाका ७ वटा स्थानीय तहमा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ। ऐलानी जग्गा निर्माण गरी जथाभावी घर टहरा निर्माण गर्दा जंगल अहिले मानवीय वस्तीको रूपमा विकास भएको छ।

जाजरकोटमा वन अतिक्रमणको अवस्था?

तीन वर्षअघिको सर्वेक्षणले  ५ हजार १ सय हेक्टर जमिन अतिक्रमण भएको देखिएको डिभिजन वन कार्यालयका योजना शाखा पूर्ण चन्दले जानकारी दिए। वन अतिक्रमण गर्नेमा राजनीतिक दलका कार्यकर्ता सबैभन्दा अघि देखिएका छन्। सदरमुकाम खलंगा होस् या गाउँमा वन अतिक्रमण गरी घर टहरा बनाउने लगायतका कार्यमा दलका कार्यकर्ता नै अग्रस्थानमा देखिएका छन्।

दलका कार्यकर्तापछि वन अतिक्रमण गर्ने दोस्रो नम्बरमा व्यापारी देखिएका छन्। अतिक्रमण हटाउन पटकपटक प्रयास गर्दा पनि दलीय समस्याकै कारण वन डिभिजन कार्यालय सफल हुन सकेको छैन।

२०७० सालभन्दा अघि पाँच सय १८ घरधुरीले वन अतिक्रमण गरी घर टहरा बनाएको डिभिजन वन कार्यालयको तथ्यांक छ। तत्कालीन अवस्थामा १८ घरधुरीले छ सय ७२.०२  रोपनी वन अतिक्रमण गरेका थिए। यसैगरी २०७० देखि ०७२ माघसम्म थप नौ घरधुरीले १ सय ४७.३५ रोपनी वनक्षेत्र अतिक्रमण गरी घर टहरा बनाएको तथ्यांकमा उल्लेख छ।

हालसम्म जिल्लामा दुई हजार नौ सय ४३ घरधुरीले ५ हजार १ सय हेक्टर वन अतिक्रमण गरेको वनको तथ्यांकमा उल्लेख छ। यसबीचमा डिभिजन वनले एक सय ३२ हेक्टर अतिक्रमित वन क्षेत्र हटाएको छ। यद्यपि, डिभिजन वनले बेलाबेला अतिक्रमण हटाउने प्रयास गरे पनि केही राजनीतिक दलको अवरोधपछि उक्त कार्य रोकिएको छ। पछिल्लो समय जिल्ला वनले अतिक्रमण रोक्न ठोस पहल नगर्दा अतिक्रमण गर्नेको संख्या बढेको आम नागरिकको बुझाइ छ।

वन अतिक्रमणले चिर कालिज लोप हुँदै

जिल्लाका  नायकवाडा, रोकायगाँउ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवति, पैक, ढिमे, झाप्रा, अर्छानी लगायतका स्थानमा पाइने चिर कालिजलाई स्थानीय शिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पंक्षि संरक्षण संघका सदस्यसमेत रहेका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहले बताए। विश्वमै दुलर्भ पंक्षीलाई चेतनाको अभावमा मार्ने गरिएको उनको भनाइ छ।

यसको संरक्षणको लागि अहिलेसम्म कुनै निकायबाट पहल भएको छैन। सरकारले ९ प्रजातिका संरक्षित चराको सूचीमा चिर कालिजलाई राखेको छ। यसलाई मारेमा कानुनी कारवाही हुने व्यवस्थासमेत गरिएको छ। तर, नियमक निकायले बेवास्ता गर्दा र यसको महत्त्वबारे स्थानीयलाई जानकारी नहुँदा चिर कालिज मार्ने क्रम बढिरहेको हो।

चोरी शिकारीका साथै वनजंगलको विनास र आगलागीका कारण पनि चिरकालिजलाई प्रतिकूल असर परिरहेको छ। जनचेतना मूलक कार्यक्रमका माध्यामबाट यसको संरक्षण गर्न सके जाजरकोटमा चिरकालिजलाई प्रसस्त मात्रामा वृद्धि गर्न सकिने पशु स्वास्थ्य प्राविधिक सिंहको भनाइ छ। पंक्षी विज्ञ कृष्णप्रसाद भुषालको टोलीले चार वर्षअघि जाजरकोटमा गरेको एक स्थलगत अध्ययनबाट चिर कालिज रहेको तथ्य फेला पारे पनि अहिलेसम्म संरक्षणका लागि कुनै पहल गरिएको छैन। चिर कालिज पाइने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न सके जाजरकोटमा चिरकालिजको संख्यामा वृद्धि गर्न सकिने स्थानीयको भनाइ छ।

चिर कालिजलाई स्थानीयले भरुवा बन्दुकले गोली हानेर तथा पासो थापेर मार्ने गरेका छन्। भौगोलिक विकटता र असुरक्षाका कारण चिर कालिजको चोरी शिकारी बढ्दै गएको हो। समयमै संरक्षण नगर्ने हो भने यहाँको चिर कालिज पनि लोप हुने अवस्थामा पुगेका हुन्।

'पारस्थितिकीय प्रर्णालीलाई सन्तुलित राख्न वन्यजन्तु संरक्षण गर्नुपर्छ। मानव र जीवजन्तु बीचको अन्तरक्रियाले मानव समाज, आर्थिक तथा सांस्कृतिक जनजीवन, वन्यजन्तुको संरक्षण र वातावरणमा नकरात्मक असर पुर्‍याउँछ' निमित्त डिभिजन प्रमुख महेश कुमाईले भने, 'वन्यजन्तुको वासस्थान विनास हुनु, खानेकुराको अभाव, वन अतिक्रमण, वन्यजन्तुको आफ्नै समस्या (अस्वस्थ, अक्षम, अपाङ), वन क्षेत्रमा मानवीय चापले मानव र वन्यजन्तुबीच द्वन्द्व सृजना हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.