|

रसुवा : पासाङल्हामु मार्गको धुन्चेदेखि स्याफ्रुबेशी सम्मको सडकखण्डमा मर्मत सम्भार नहुदाँ सवारी चालक जोखिम मोलेरै सवारी चलाउन बाध्य भएका छन्। जीर्ण तथा साधुरो सडक मर्मत नगर्दा जीर्ण सडकमा चालक जोखिम मोलेरै सवारी चलाउन बाध्य भएका हुन्।  दैनिक जसो वर्षा हुँदा सडकखण्ड हिलाम्मे बनेको छ। हिलोमा सवारी साधन बाटोमै फसेर दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ। खोपाङ भीरमा भने खाली गाडीसमेत उक्लन नसक्ने अवस्था रहेको छ।

धुन्चेदेखि रसुवागढीसम्मको दूरी करिब ३० किलोमिटर रहेको छ। वर्षातको समयमा सडक पूर्ण रूपमा जीर्ण भएको छ भने धेरै स्थान पहिरोको जोखिम समेत रहेको छ। जीर्ण सडक, भीरपाखा, ढुंगा खस्ने जोखिम त्यसमाथि हिलाम्य र जताततै खाल्टा खुल्टी सडकमा चालक सवारी साधन धकेलेरै भए पनि चलाउन बाध्य भएको चालक बताउँछन्। 'जताततै सडकमा खाल्टखुल्टी छ, लोड गाडी त छदैछ, खाली गाडी पनि उक्लिदैन्, डोरीले तानेर सबै मिलेर धकेलेर संचालन गरिराखेका छौँ, कुन बेलामा के हुन्छ भन्न सक्ने अवस्था छैन्,' सवारी चालक प्रेम बुलुनले भने।

सडक डिभिजन कार्यालयले जीर्ण सडकको समयमै मर्मत नगरेको भन्दा सवारी चालकले आक्रोश पोखेका छन्। 'सवारी चालक रामशरण आचार्यले भने  बिग्रेको ठाउँको बाटो मर्मत गर्नुपर्छ नी, राम्रो ठाउँमा बाटो बनाइरहेको देखिन्छ, राम्रो बाटोभन्दा असहज भएको बाटो त बनाउनुपर्‍यो नी भन्ने हाम्रो माग हो, तर के हेरेर बसिरहेको छ सडक कार्यालय,' अर्का सवारी चालक केदार न्यौपानेले भने 'सिंगल लेनको कच्ची सडक छ, सडकको बीच बाटोमै पुगेर ट्रक तथा कन्टेनर बिग्रन्छ, साइड दिने ठाउँ हुँदैन घण्टौंसम्म जाम हुने गरेको छ, तर यो सडकको स्तरोन्नती गर्न कसैको ध्यन गएको भने देखिदैन्।'

वर्षातको समयमा धुन्चेदेखि स्याफ्रुबेशीसम्मको सडक, डिभिजन कार्यालय नुवाकोटले मर्मत गर्ने र रसुवागढीदेखि स्याफ्रुबेशीसम्मको सडक रसुवागढी जलविद्युत आयोजनाले मर्मत तथा अवरोध हटाई संचालन गर्ने बताए पनि समयमा काम नगर्ने गरेको चालकले गुनासो गरेका छन्।

चीनबाट नेपाल तर्फ आयात तथा निर्यात हुने सामान यहि सडकखण्ड हुँदै आवतजावत हुने गर्दछ। रसुवागढी नाका हुँदै आउने तथा सदरमुकाम धुन्चे हुँदै जाने ठूला मालबाहक सवारी साधन, निमार्णधीन जलविद्युत आयोजनाको निमार्ण सामग्रीलगायतका करोडौँ मूल्यका सामान सवारी साधनमार्फत यहि बाटोबाट जोखिम मोलेरै लाने ल्याउने गरेका छन्। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढि नाका हुँदै सामान आयात भइरहेको छ।

अन्तराष्ट्रिय नाका जोडिएको सडक जीर्ण बनेपछि सडक मर्मत गरि सहज रूपमा सवारी संचालन गर्ने वातावरण बनाउन सवारी चालकले सम्बन्धित निकायसँग मागसमेत गरेका छन्।  

भारतले लगाएको नाकाबन्दीपछि पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने भन्दै धेरै मन्त्रीहरू रसुवागढी नाकासम्म पुगेर अनुगमन गर्ने गरेका थिए। सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि तत्काल पासिङ जोन बनाउने योजनासमेत सार्वजनिक गरिएको थियो। विभिन्न योजनाअघि सारिए पनि सडकको अवस्था भने जस्ताको त्यस्तै छ।

सरकारले त्यति बेला नै सडक स्तरोन्नति गर्ने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन्। जसले गर्दा करोडौ मूल्य बराबरको सामान जोखिम मोलेरै लैजाने गरिएको छ। पासाङल्हामु सडक खण्डमर्मत सम्भार नहुँदा दिन दिनै जीर्ण हुँदै गएको छ। तर सम्बन्धित निमाय भने मौन रहेको पाइन्छ। तर, सडक डिभिजन कार्यालय भने पर्याप्त बजेट नआएको हुँदा मर्मत सम्भार हुन नसकेको भन्दै पन्छिदै आएको छ। त्यस्तै, जिल्लामा सडकको कार्यालय समेत छैन् भने नुवाकोटमा रहेको सडक डिभिजन कार्यालयले रसुवाको सडक हेर्दै आएको छ।

२०४२ सालमा सदरमुकाम धुन्चेसम्म सडक संचालनमा आएको थियो। त्यसको दुई वर्षपछि स्याफ्रुसम्म सडक निर्माण भएको थियो। २०६७ सालमा चीन सरकारको सहयोगमा रसुवागढी नाकासम्म सडकले जोडिएको हो।

एसियाली विकास बैंकको १ अर्ब ५० करोड ऋण सहयोगमा २०७० सालमा स्याफ्रुसम्म कालोपत्रे गरिएको थियो। पिच गर्नका लागि करिब ४ वर्ष लागेको थियो। पहिरो गएको क्षेत्र राम्चे तथा मूलखर्क क्षेत्रमा कालोपत्रे गरिएको थिएन्।

बेत्रावतीदेखि राम्चेसम्म रसुवा कन्स्ट्रक्सन र राम्चेदेखि स्यापुर्फबेँसीसम्म कालिका कन्स्ट्रक्सनले पिच गर्ने जिम्मा लिएका थिए। यो सडक जिल्ला स्तरीय सडकको वर्गीकरणमा पर्छ। सडक खण्डको राम्चेदेखि रसुवागढीसम्म आधा दर्जन स्थानमा ठूलाठूला पहिरोको जोखिम रहेको छ। २०७१ मंसिरदेखि रसुवागढी नाकामा द्विदेशीय व्यापारिक कारोबार सुरु भएपछि यो सडकको चर्चा देशव्यापी चुलिएको थियो। तर, सडकको मर्मत सम्भारको अभावमा चालक, यात्रु र व्यापारी दैनिक जासो नै  जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.