९२ बर्षमा पनि लेखनमा सक्रिय पत्रकार

|

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालको जन्मदिनका अवसरमा उनीद्वारा लिखित 'उहिलेको नेपाल' पुस्तक सार्वजनिक गरिएको छ। ललितपुरको पाटनढोकाको यलमाया केन्द्रमा पूर्वराष्ट्रपति रामवरण यादव र लेखक तथा पत्रकार रिसालले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्। पत्रकार रिसाल बुधबारदेखि ९२ वर्षमा प्रवेश गरेका छन्।

पत्रकार रिसालले हिमाल खबरका सम्पादक किरण नेपालसँग पत्रकारिका अनुभवबारे सम्वाद गरेका थिए। सो क्रममा पत्रकारिताको क्षेत्रमा देखेका, सुनेका र अनुभवका बारेमा पत्रकार रिसालले सुनाए।

पुस्तक विमोचन कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले रिसाललाई जन्मदिनको शुभकामना दिँदै उनको पुस्तकले नेपालको ऐतिहासिक पाटो, तत्कालीन समाजको चरित्रलाई उदांगो पार्न सफल भएको भनाइ राखे। सोही क्रममा पत्रकार रिसाललाई पूर्वराष्ट्रपति यादवले समसामयिक विषयमा पनि कलम चलाउन आग्रह गरे।

पत्रकार रिसालले पत्रकारितामार्फत निरन्तर समाज र सरकारलाई झक्झक्याउँदै नयाँ पुस्ताका माझ नेपालको पत्रकारितालाई विश्वासनीयताको आँखाले हेर्न वातावरण बनाएको उनले बताए। 'अहिलेको नयाँ पुस्ताका पत्रकारले उहाँको जति मेहनत गर्न सक्दैनन्' पूर्वराष्ट्रपतिले बताए, 'उहाँले खोजेर लेख्‍नु हुन्थ्यो र लेखेपछि ती समाचारले तरंग पैदा गर्थो।' उनको प्रेरणादायी जीवनले नयाँ पुस्तालाई मेहनत गर्न हौसला मिल्ने उनले बताए।

त्यस्तै, पत्रकार रिसालले आफ्नो किताबमा देखेको पत्रकारिता र भोगेको समाजको बारेमा लेखिएका रचनाहरू मात्र रहेको बताए। उनले नयाँ पुस्ताका पत्रकारहरूले पत्रकारिताको विश्वसनीयता नगुम्‍ने गरी काम गर्न पनि आग्रह गरे।

बुक हिल प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकको मूल्य ३ सय ५५ रहेको छ। पत्रकार रिसालका त्यति बेलाको पत्रकारिता, साधुलाई सुली, सुशीला भैरवजस्ता अन्य कृतिहरू पनि प्रकाशित भइसकेका छन्। ९२ वर्ष टेकेका पत्रकार रिसाल अहिले पनि लेखन कार्यमा सक्रिय रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.