|
फाइल फोटो

गुल्मी : गुल्मीका ५ वटा स्थानीय तहले रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा दिएका छन्। जिल्लामा रहेका २ नगरसहित १० वटा गाउँपालिकामध्ये ५ गाउँपालिकाले   सार्वजनिक सूचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन्।

बिहीबार साउन ३० गते परेको रक्षा बन्धनको अवसरमा रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। गाउँपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

जिल्लाका अन्य स्थानीय तहले भने बिदा दिएका छैनन्। साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा अझै पनि प्रचलित छ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.