|

काठमाडौं : जनैपूर्णिमाको दिन रक्षा बन्धनसँगै नेपाली समाजमा विभिन्न गेडागुडी भिजाएर टुसा उम्रेपछि क्वाँटी  पकाएर खाने चलन छ।  जसले गर्दा जनैपूर्णिमामा गेडागुडीको रस बनाएर खाने चलन पनि आयुर्वेदको यही मान्यतालाई पछयाउँदै भएको बुझ्न सकिन्छ।

जनैपूर्णिमा पर्ने साउन अन्तिम वा भदौको पहिलो हप्ताको समय वर्षायाम सकिएर हिउँद लाग्ने बेला हो। मौसम परिवर्तन हुने बेलामा रुघाखोकी, चिसो लाग्ने, कमजोरी हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ। त्यसैले तातो र तागत दिने कुराहरू खानुपर्छ भन्ने मान्यता रहेको छ। 

गेडागुडी नेपालीको भान्सामा पाक्ने पौष्टिकताले भरिपूर्ण खाद्यपदार्थ हो। यसमा स्वास्थ्यको लागि महत्त्वपूर्ण पौष्टिक पदार्थ हुन्छ। विभिन्न गेडागुडी भिजिसकेपछि राम्रोसँग धोइपखाली गरी अँध्यारो स्थानमा फिजाएर राखिन्छ। ठिक्क मात्रामा टुसा उम्रिएको गेडागुडीलाई पकाएर भात वा रोटीसँग खान सकिन्छ। खाजाको रूपमा खाए पनि हुन्छ।

वर्षातको मौसममा मानिसहरू खेतीपातीमा व्यस्त हुन्छन्। यो समयमा तापक्रम घट्ने र बढ्ने क्रम चलिरहन्छ। यो वेला रुघाखोकीलगायत अन्य संक्रमण फैलिन सक्ने सम्भावना रहन्छ। यसलाई रोक्न गेडागुडीको रस ज्यादै प्रभावकारी मानिन्छ। जसले गर्दा धार्मिकरूपमा मात्र हैन स्वास्थ्यको दृष्टिले पनि क्वाँटी  खानु फाइदाजनक हुन्छ। क्वाँटी खाने चलन खास गरेर काठमाडौं उपत्यकाको हो। नेवार भाषामा यसलाई क्वाँती भनिन्छ। क्वाँती अपभ्रंस हुँदै क्वाँटी भन्ने गरिएको हो।

कम्तीमा पनि नौथरी गेडागुडी मिसाएर बनाइएको क्वाँटी यसरी मिसाइएका गेडागुडीमा एनिटअक्सिडेन्टको मात्रा हुन्नाले ‘फ्रि रेडिकल्स’बाट हुने विभिन्न रोगबाट बचाउन मद्दत गर्छ। टुसाएको गेडागुडीमा मासुमा भन्दा धेरै पौष्टिक तत्त्व पाइन्छ। गेडागुडीमा प्रोटिनका साथै भिटामिन ए, बी र सीको मात्रा हुन्छ। भिजाएको गेडागुडीमा पाइने तत्त्वहरूले पाचन प्रणाली राम्रो बनाउँछ। उमारेको गेडागुडीले कब्जियत पनि हटाउँछ।

क्वाँटीबाट भिटामिन बि, सि, इ, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरू हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ। यस्तै भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने बिरामीहरूलाई क्वाँटीको झोल खुवाउन सकिन्छ। जसमा आवश्यक पोषक तत्त्वहरू ठीक मात्रामा पाइन्छ। झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ। प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ। सस्तो र घरमै तयार गर्न सकिने हुनाले यसलाई अन्य खानेकुराको तुलनामा सन्तुलित आहारको रुपमा लिन सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.