|

उदयपुर : प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चाँडै मूलधारको शान्तिपूर्ण राजनीतिमा आउने बताएका छन्। विभिन्न कार्यक्रममा विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउने बताउँदै आएका मुख्य मन्त्री बिहीबार उदयपुरमा पुनः यस्तो बताएका हुन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ कमिटीको प्रथम अधिवेशनलाई बिहीबार सदरमुकाम गाईघाटमा सम्बोधनका क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। आफ्नो अधिकारको निम्ति नेपाली जनताहरूले थुप्रै वलिदानीपूर्ण संघर्ष र आन्दोलन गरेको भन्दै त्यसको फलस्वरूप नेपाली जनताले आफूले चाहेअनुसारको अधिकार पाइसकेको ठोकुवा गरे। ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चाँडै मूलधारका राजनीतिमा आउने छ,’ उनले भने, ‘जनताले ठूला–ठूला उपलब्धहरू पाइसकेका छन्।'

उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समुहले पुनः बलिदानी संघर्ष गर्छु भन्नु औचित्यहिन भएको भन्दै विप्लव समूहले गरेका गतिविधि देश र जनताको हितमा नभएको दावी गरे। 'जनतालाई प्रतिकूल नहुने कुनै पनि गतिविधि तीनै तहका सरकारलाई स्वीकार्य छैन, त्यसको कारण विपल्व समूह मूलधारको राजनीतिमा चाँडै आउने छ', उनले दोहोर्‍याए।

मुख्यमन्त्री राईले संघीयताको भावना र मर्मअनुसार कर्मचारीसँगै राजनीतिक नेतृत्वमा परिवर्तन नआएको समेत बताए। 'कर्मचारी ब्यूरोक्रेसीमा त झनै ठूलो समस्या छ,’ उनले भने, ‘पुरानै मनस्थितिमा धेरै मानिस चल्न खोजिरहेकाले संवैधानिक अधिकार प्रयोग र अभ्यास गर्न समस्या देखिएको छ।’

उनले विकास निर्माणको विशाल राजमार्ग बनिसकेको भन्दै उनले अब दौडिनमात्र बाँकी रहेको बताए। ‘संघीयता कार्यान्वनको चरणमा केही ढिलासुस्ति जस्तो देखिएको छ,’ उनले भने, ‘अबको समय विकास र निर्माणको काम भएकाले सबै जनतालाई निराश नहुन आग्रह गर्दछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.