|

बैतडी : चारैतिर हरियाली वन-जंगल अनि सुनसान वातावरण, बीचमा कलकल बग्ने खोला, चरा-चुरुंगीको चिरबिर, अनि मनै लोभ्याउने शिव लिङ्गको आकारमा रहेको पहाड प्रकृतिको वरदान सावित ठाउँ हो, कञ्चनपुरको लिङ्गा ! कञ्चनपुरको वेदकोट नगरपालिका ४ बगुनस्थित चुरे फेदमा रहेको यो ठाउँ सिद्ध शिवलिङ्गेश्वर (लिङ्गा) धामका रुपमा परिचित हुँदै गएको छ।  

सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। माटोका अनौठा आकृतिसँगै सेल्फी लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्। पर्यटकको सुविधाका लागि नगरपालिकाले सेल्फी प्वाइन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको स्थानीय पार्वती विष्टको भनाई छ।

टाढाबाट लस्करै मन्दिरहरूको सहरजस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेजस्तो देखिन्छ। वर्षौ पहिलादेखि नै अनौठा आकारका रहेका माटोको आकृतिसँगैको सेल्फी लिन हाल आन्तरिक तथा बाह्य पर्यटक उक्त स्थानमा पुग्ने गरेका छन्।

लिङ्गाको वनावटले मात्रै पर्यटकको ध्यान तानेको छैन् की लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकांक्षा पनि पूरा हुने धार्मिक विश्वासका आधारमा पनि धेरै व्यक्ति शिव लिङ्गेश्वर धाममा पुग्ने गरेका छन्। केही वर्ष अगाडिसम्म प्रचार-प्रसार तथा बाटो-घाटोको व्यवस्था नहुँदा ओझेलमा परेको लिङ्गा क्षेत्र जनप्रतिनिधि आइसकेपछि प्रचारमा आएको हो।

यातायात सुविधा खासै नभएको भएपनि प्रकृतिको अनुपम दृश्यलाई क्यामेरा र मोबाइलमा कैद गरी सामाजिक सञ्जालकहरूमा राख्ने कार्यले समेत विगत ३ वर्ष यतादेखि हुँदै आएपछि यस क्षेत्रले चर्चा पाउन सफल भयो। टाढाबाट दृश्य नियाल्दा ढुंगालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याइदिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन्।

यस क्षेत्रले पर्यटकीय क्षेत्रका रूपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाइमा पर्न थालेको छ।  
भगवान् शिवको बास रहेको विश्वास यस क्षेत्रलाई स्थानीय बासिन्दाले धार्मिक क्षेत्रका रूपमा समेत लिने गरेका छन्। शिवलिङ्गेशवर क्षेत्रका रूपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ। शिवरात्रीको बेला झनै  उक्त क्षेत्रमा भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

शिवलिंग क्षेत्रमा भगवान् शिवको बास रहेकाले दत्तचित्त रूपले यस क्षेत्रमा पूजा गरे मनले चिताएको पूर्ण हुने विश्वास रहेको स्थानीय प्रकाश कलौनीको भनाई छ। माटोका विभिन्न आकृति भएका ठाउँनजिकैको खोलामा विसं २०२७ सालमा स्थानीय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढ्ने भएपछि भगवान् शिवलाई स्थानीयले घ्यू भात खाने र चढाउने भाकल गरेपछि मात्र पानी नहरमा आउन थालेको जानकारहरूको भनाई छ।  

जानकारहरूका अनुसार धेरै पहिले चुरे पर्वत वर्षाका कारण खिइँदा चुन, कोइला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रूपमा लिएको हो। हाल जति वर्षा भए पनि माटोका मसिना माटोका आकाशतर्फ फर्केका विभिन्न आकृतिका थुम्कामा कुनै असर नपर्ने गरेको स्थानीयको भनाइ छ। यस क्षेत्रमा विसं २०२५ सालदेखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अवस्थामा छन् त्यही अवस्थामा पहिले पनि देखेको बुढापाकाहरू बताउछन्।

यसका साथै लिङ्गा क्षेत्रको उत्पत्तिका बारेमा खासै अध्ययन अनुसन्धान नभए तापनि प्रकृतिको वरादनका रुपमा लिने गरिएको छ। प्रकृति उत्पत्ति भएकै बेला भूमिभित्र लिङ्ग रहेको विश्वास छ। तत्कालीन दैजी गाविसमा २०१८ सालमा वस्ती विस्तार भएपछि त्यसपश्चात पानीको मुहान खोज्ने क्रममा त्यहाँ लिङ्गेश्वर बाबाको बास छ भन्ने कुरा पत्ता लागेको किंवदन्ती छ।

स्थानीयले त्यही समयमा चन्दा संकलन गरेर सो क्षेत्रमा मन्दिर स्थापना गरेर संरक्षण थालेका हुन्। शिव भगवानको बास रहेको विश्वासमा स्थानीयले संरक्षण गरेको लिङ्गा क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको लिङ्गा क्षेत्रमा सम्वन्धित सरोकारवाला निकायको ध्यान दिने हो भने कञ्चनपुरको यो लिङ्गा क्षेत्र रमणीय पर्यटकीयस्थल र धार्मिक क्षेत्रमा रुपमा मात्रै सीमित नभएर समग्र कञ्चनपुर जिल्लाकै आर्थिक पक्ष सबल हुने समेत प्रवल सम्भावनाहरू छन्। 

लिङ्गा क्षेत्रमा फैलिएको प्राकृतिक पहाडको फरक बनावट अवलोकन गर्नका लागि अहिले पर्यटकको घुँइचो लाग्ने गरेको छ। यातायातको समस्याका बाबजुत पनि दैनिक चारसयदेखि पाँच सयसम्म मानिस अवलोकन गर्न लिङ्गा पुग्ने गरेका छन्।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा, बैतडी लगायत नौवटै जिल्लासहित देशभरबाट पर्यटक आउने गरेका छन् साथै  छिमेकी मुलुक भारतबाट समेत पर्यटक लिङ्गा क्षेत्रमा आउने गरेका छन्। पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको दैजी बजारबाट ८.६ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा लिङ्गा पर्दछ। 

धार्मिक तथा पर्यटकीय क्षेत्र नगरपालिकाको प्राथमिकतामा 

कञ्चनपुरको वेदकोट नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रथमिकतामा राखेको छ।  नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासकै लागि भनेर बार्षिक १ करोड बढी बजेट छुट्याउने गरेको छ।  वेदकोट नगरपालिका ४ मा पर्ने लिङ्गा क्षेत्रको संरक्षण सम्बर्द्धनमा स्थानीय सरकार जुटेको हो।

लिङ्गा क्षेत्रको संरक्षण सम्बर्द्धन गर्दै पर्यटन प्रवर्द्धनका लागि भौतिक संरचना, सडक निर्माण तथा मर्मत सम्भारका लागि वजेट विनियोजन गरेरै काम थालेको वेदकोट नगरपालिकाले जनाएको छ। नगरपालिकाले लिङ्गा क्षेत्रमा पिकनिक स्पार्ट, मूर्ति निर्माण ,पार्किङस्थल, मिटिङ हल समेत निर्माण गरेको छ। यसका साथै पसल सञ्चालका लागी ठेक्का दिने गरेको छ। गतवर्ष १ लाखमा ठेक्का दिइएको थियो भने संरक्षणको लागि पालेघर बनाई पालेको व्यवस्था गरेको छ।

लिङ्गासम्म व्यवस्थित रुपमा यातायात सञ्चालनको लागि पनि नगरपालिकाले काम सुरु गरेको छ। गत वर्ष दैजी-जोगबुढा सडकअन्तर्गत १ करोड १४ लाखमा १५ सय मिटर सडक कालोपत्रे गरेको थियो। यसका साथै भम्कादेखि भित्री लिङ्गा जाने सडक पनि कालोपत्रेको काम भइरहेको छ। १ करोडमा रकममा उक्त सडक कालोपत्रेको काम हुँदैछ। 

नगरपालिकाले लिङ्गा क्षेत्रको भौतिक संरचना निर्माण तथा लिङ्गाको सरक्षणको लागि मात्रै ७५ लाख खर्च गरिसकेको छ। यसका साथै नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा भौतिक संरचना निर्माणका लागि प्रत्येक वर्ष १ करोड बजेट छुट्याउने गरेको छ। 

सिद्ध शिवलिङ्गेश्वर (लिङ्गा) धाम र वेदकोटको विकासका लागि वेदकोट नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) र मास्टर प्लान समेत बनाइसकेको छ। शहरी विकास मन्त्रालयको सहयोगमा १७ करोडमा लिङ्गा र १९ करोडमा वेदकोट तालको संरक्षण र विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र मास्टर प्लान तयार भएको नगरप्रमुख अशोकबहादुर चन्दले बताए।  

उनले लिङ्गा र वेदकोटलाई एउटै धार्मिक तथा पर्यटकीय स्थलका रुपमा जोडेर विकास गरिने बताए। लिङ्गा र वेदकोट जोड्ने गरी सडक निर्माण अतिथि गृह, गेष्ट हाउस,पार्किङ स्थल, स्वीमिङ पुल लगायतका भौतिक संरचना निर्माण गरिने उनको भनाई छ। वेदकोट नगरपालिकाले वि स २०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेसँगै थप त्यस क्षेत्रको संरक्षण र प्रवर्द्धन भएको हो।  

पर्यटन वर्षमा उप राष्ट्रपति नन्दबहादुर पुन, उप सभामुख डा. शिवमाया तुम्बाहाम्फेले लिङ्गा क्षेत्रको अवलोकन गरेका थिए। यसका साथै  उप प्रधानमन्त्री ईश्वर पोखरेलले समेत लिङ्गा क्षेत्रको अवलोकन गरिसकेका छन्। सुदूरपश्चिम प्रदेशका सम्पूर्ण मन्त्रीले समेत लिङ्गा क्षेत्रको अवलोकन गरेको वेदकोट नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.