|

रसुवा : रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सकिएको छ। हरेक वर्ष नाग पन्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष सकिएको हो।  

साउन २१ देखि ३० गतेसम्म गोसाइँकुण्डमा लागेको मेलामा यो वर्ष करिब १० हजारभन्दा बढी भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले बताए। जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा स्नान गर्ने तीर्थयात्रीको संख्यामा गत वर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ।

गोसाइँकुण्ड जाने सडक मार्गअन्तर्गत राम्चे र मुलखर्कमा बर्सेनि जाने पहिरो यस वर्ष सुचारु रहेकाले तीर्थयात्रीको संख्या वृद्धि भएको हो। दश दिनसम्म लागेको मेला भर्न देशका बिभिन्न जिल्लाको साथै छिमेकी देश भारतबाट पनि तीर्थयात्रु आएका थिए। मेला अवधिमा मात्र नभई पछिल्लो समय गोसाइँकुण्डमा बाह्रै महिना आवत-जावत हुने गरेको पाइन्छ। 

पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानव बीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशूलले भितामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पति भई त्रिशूल धाराको पानिबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंमदन्ती रहेको पाइन्छ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैं हजार भक्तजन कुण्डमा स्नान गर्न आउँने गर्दछन्। जनैपूर्णिमाका दिन सबै देवी देवताको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पूजाआजा गरि स्नान गर्नाले आनन्द प्राप्त हुनुको साथै पुन्य मिल्ने जनविश्वास रहिआएको छ। 

मेलामा हुनसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको थियो। उच्च भागमा पुगेपछि लेक लाग्ने समस्या तथा अन्य स्वास्थ्य समस्यालार्ई दृष्टिगत गरी नेपाली सेनाको कालिजंग गणले चोलाङपाटी,सक्षम नेपालले बुद्घ मन्दिर तथा हिमालय उदार संघले गोसाइँकुण्ड, जिल्ला स्वास्थ्य कार्यालय रसुवाले स्वास्थ्य शिविर संचालन गरी तीर्थयात्रीको उपचार गराएका थिए।

तीर्थयात्रीबाट हुनसक्ने फोहर संकलन तथा उनीहरूलाई सहयोग पुर्‍याउन बिभिन्न सामाजिक संस्थाहरूले स्वंयसेवक परिचालन गरेको थियो। त्यस्तै मेला सुरु भएसँगै यात्रुको सहजताका लागि सदरमुकाम धुन्चे र मिनी गोसाइँकुण्डमा सूचना केन्द्र स्थापना गरिएको थियो। त्यसैगरी, यात्रुलाई पर्नसक्ने समस्यालाई समाधान गर्न स्वयमसेवक परिचालन गरिएको छ।

मेला अबधिभर गोसाइँकुण्ड क्षेत्रमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था तथा सतर्कता उच्च बनाइएको थियो। रसुवाको सदरमुकाम धुञ्चेबाट देउराली, लौरीबिनायक, चन्दनबारी, चोलाङपाटी हुदै पुगिने गोसाइँकुण्डसहित आसापासका १०८ भन्दा बढी कुण्ड स्नान तथा अवलोकनको लागि पुगेका तीर्थयात्रीको आकर्षणको केन्द्र बनेको छ।

रसुवा-नुवाकोट लगायतका स्थानबाट आएका तामाङ तीर्थयात्रीको पोषाक, खाना, ड्यांग्रो र लामा नाँच तथा उनीहरूकै शैलीमा गाइएको सेलोले तीर्थयात्रीको ध्यान तानेको छ। 

ऐतिहासिक धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्व बोेकेको गोसाइँकुण्डसँगै भैरव, सरस्वती, गणेश दूध, सूर्य लगायतका कुण्डहरू आन्तरिक तथा विदेशी पर्यटकको लागि अहिले गन्तव्य स्थल बनेको छ। त्रिशूली नदीको उद्गमस्थल विश्व सम्पदा सूची र सिमसार क्षेत्रमा सूचीकृत गोसाँइकुण्ड पवित्र तीर्थस्थल र सत्यताको प्रतीक समेत रहेको तीर्थयात्रीको बुझाई छ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र संरक्षित गोसाइँकुण्डलाई अन्तर्राष्ट्रिय धार्मिक क्षेत्रमा प्रचार तथा प्रसार लागि मुख्य चुनौती रहेको छ। रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका विभिन्न स्थानबाट कम्तिमा एक दिनको पैदलबाट  पुगिने पवित्र स्थल गोसाइँकुण्डको विकास गुरुयोजनामार्फत गर्न सके अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने तीर्थयात्रीले बताएका छन्।

काठमाडाैंबाट गोसाइँकुण्ड तिर्थयात्रामा आएका एक तीर्थयात्रीले भने गोसाइँकुण्डलाई एउटा अन्त्रार्राष्ट्रिय धार्मिक क्षेत्रको रुपमा विकास गर्न एउटा गुरुयोजना तयार गरि बिकास गर्नुपर्छ, यदि यसको धार्मिक महत्व बुझाउन  सकिएको खण्डमा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्छ जस्तो लाग्छ।

प्राकृतिको भण्डारको रुपमा रहेका विभिन्न कुण्ड, हिमाल र लाङटाङ निकुञ्जको चिनारीको लागि पनि जनैपूर्णिमा पर्वले गोसाइँकुण्डको महिमा जीवन्त राख्न सहयोग पुर्‍याउँदै आएको छ।

गोसाइँकुण्ड गाउँपालिका ५ मा अवस्थित गोसाइँकुण्ड समुद्रि सतहदेखि ४ हजार ३८० मिटरको उचाइमा रहेको छ। गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक  मेला लाग्ने गर्दछ। सन् २००७ सेप्टेम्वरमा गोसाइँकुण्ड रामसार सूचीमा समेत सूचीकृत छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.