|

हेटौँडा : नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले केही समयअघि कार्यसम्पादनमा सुधार गर्न प्राधिकरणको वितरण केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका थिए। कार्यसम्पादन सम्झौतामा चुहावट नियन्त्रण प्रमुख मुद्दाको रूपमा रहेको थियो। घिसिङले विद्युत् चुहावट रोक्न देशै भरि दिएको निर्देशनपछि हेटौँडा वितरण केन्द्र विद्युत् चुहावट कम भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलना आर्थिक वर्ष २०७५/७६ मा १२ प्रतिशत चुहावट नियन्त्रण गर्दै हेटौँडा वितरण केन्द्रले चुहावट दर १.७८ प्रतिशतमा झारेको छ। आर्थिक वर्ष २०७४/७५ मा १३.३७ प्रतिशत चुहावट रहेको हेटौँडा वितरण केन्द्रमा आर्थिक वर्ष २०७५/७६ मा १.७८ प्रतिशतमा सीमित भएको बताइएको छ। 

हेटौँडा वितरण केन्द्रले आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ९७ लाख ५६ हजार ५ सय ६२ यूनिट विद्युत् बिक्री गरेकोमा आर्थिक वर्ष २०७५/०७६ मा २० करोड ३३ लाख २९ हजार ४ सय ८९ यूनिट विद्युत् बिक्री गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलना ३ करोड ३५ लाख ७२ हजार ९ सय २७ यूनिट बढी विजुली बिक्री गरेको छ।

विद्युत् बिक्री यूनिटमा वृद्धि भएसँगै हेटौँडा वितरण केन्द्रको आम्दानी पनि बढेको छ। आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हेटौँडा वितरण केन्द्रले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २५ करोड ५२ लाख बराबरको विद्युत् बिक्री गरेको छ। विद्युत् चुहावटमा व्यापक सुधार गरेको हेटौँडा वितरण केन्द्रले एक वर्षमा करिब ३० करोड रुपैयाँ बढीको विद्युत् बिक्री गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ६८ करोड ४४ लाख ७७ हजार ६ सय ४० रुपैयाँ महसुल संकलन गरेको हेटौँडा बिक्री केन्द्रले आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब १ करोड ९८ लाख ४७ हजार ४ सय २० रुपैयाँ महसुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलना आर्थिक वर्ष २०७५/०७६ मा महसुल संकलनमा पनि उल्लेख्य वृद्धि भएको हो।

अघिल्लो वर्षको तुलना गत आर्थिक वर्षमा ३३ करोड ५३ लाख ६९ हजार ७ सय ८० रुपैयाँ बढी महसुल रकम संकलन गर्न सफल भएको छ। पछिल्लो समय प्राधिकरणले महसुल संकलनमा कडाई गरेको छ। महसुल बक्यौता बढी भएको पाइए विद्युत् लाइन काट्ने क्रम तीव्र पारेपछि भुक्तानी दर बढेको प्राधिकरणका अधिकारीको भनाइ छ। अनलाइनमार्फत महसुल भुक्तानी गर्ने सुविधासमेत विस्तार गरेपछि महसुल संकलन बढेको हो।

हेटौँडा वितरण केन्द्रअन्तर्गत करिब ५ हजार उपभोक्ता पनि बढेका छन। आर्थिक वर्ष २०७४/०७५ मा ५१ हजार ८ सय ७४ ग्राहक रहेको हेटौँडा वितरण केन्द्रको ग्राहक संख्या आर्थिक वर्ष २०७५/०७६ मा ५६ हजार ३ सय ९९ पुगेको छ। विद्युत् उत्पादनमा भएको सुधारसँगै खपत बढाउनुपर्ने दबावमा रहेको प्राधिकरणले अहिले सहजै विद्युत् मिटर प्रदान गरिरहेको छ। 

प्राधिकरणको हेटौँडा वितरण केन्द्रले दैनिक ८० लाख रुपैयाँ महसुल रकम संकलन गरिरहेको छ। कुल ग्राहक मध्ये ६ हजार भन्दा बढीले अनलाइनमार्फत महसुल भुक्तानी गर्ने गरेको प्राधिकरणका अधिकारीको भनाइ छ। हेटौँडा वितरण केन्द्रले हेटौँडास्थित कार्यालय परिसरसँगै मनहरी र भीमफेदीमा पनि महसुल संकलन गर्दै आएको छ।

मनहरीमा हरेक महिनाको १४, १७, २१ र २८ गते महसुल संकलन गर्ने गरेको छ भने मनहरीमा २, ३, ४, ५, ६ र १९ गते महसुल संकलन गर्ने गरेको छ। उपभोक्ताको सहजताका लागि हरेक महिनाको निश्चित दिन महसुल संकलन कार्य गर्ने गरिएको बताइएको छ। मकवानपुरको थाहा नगर र कैलाश गाउँपालिकाको उत्तरीक्षेत्र बाहेक जिल्लाका सबै क्षेत्र हेटौँडा वितरण केन्द्रको कार्यक्षेत्र हो। थाहा नगरपालिका र कैलाश गाउँपालिकाको उत्तरी क्षेत्र थाहा नगरको पालुङस्थित वितरण केन्द्रको कार्यक्षेत्र पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.