|

डडेल्धुरा : खेतमा लगाएको बाली भित्र्याउन नपाइ जनावरले खाइदिन्छ। बल्लतल्ल भान्सा जोगाड ग¥यो। पकाएको भात बाँदरले खाइदिन्छ, आफू भोकै। यो पीडा, डडेल्धुराका विभिन्न गाउँका किसानहरुको हो। खेतीपाति गरेर घरव्यवहार धानिरहेका उनीहरुलाई जंगली जनावरको आतंकले आजित बनाएको छ। 

जिल्लाका विभिन्न गाउँका किसान बाँदरले लगाएको अन्नवाली खान थालेपछि चिन्तित भएका छन्। खेतीपातिबाट घर खर्च चलाइराखेका यहाँका किसान जंगली जनावरले लगाएको अन्नवाली खान थालेपछि के खाने के लगाउने भन्ने समस्याले पिरोल्न थालेको छ। 

जिल्लामा रहेका ७ वटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको स्थानीय बताउँछन्। जंगली जनावरले खेतमा लगाएको मकैबाली, दालबाली तथा तरकारी सबै नष्ट गर्ने गरेको स्थानीयको भनाइ छ। विगत ६÷७ वर्षदेखि बाँदर आतंकले सताएको अमरगढी नगरपालिका—८ का स्थानीय लक्ष्मी गैरालले बताइन्। ‘खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घर भित्र पसेर खाना पनि खाइदिने गरेको छ।’ उनले भनिन्, ‘दिन भरि बाँदर धपाउनु पर्छ, अन्य घरको काम सबै छुट्छ के खाने, के लगाउने भन्ने पिर हुन्छ।’ बाँदरले खेती लापत्ता पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको किसानको भनाइ छ। 

महिला र  केटाकेटीलाई  बाँदरले कुटेर हैरान

‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भनेजस्तै, बाली कुर्न गएका महिला, साना केटाकेटी उल्टै बाँदरको कुटाइ खान्छन्। विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकोमा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको अमरगढी—८ कै अर्की स्थानीय बिस्ना गैरालले बताइन्। 

‘लगाएको अन्नबाली जंगली जनावरले नष्ट गर्ने थालेपछिल किसानहरु खेतबारी बाझैँ छोडेर विदेश पलाएन हुने क्रम बढेको छ।’ उनले भनिन्, ‘केटाकेटीहरुलाई त बाँदर धपाउन गएपछि बाँदरले पिट्ने र युवाहरुले गएपछि मात्रै भाग्ने गरेका छन्।’

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ। तर, कृषकले भने राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनिहरुले माग गरेका छन्। गाउँमा मान्छे भन्दा बाँदर धेरै आउने गरेको अमरगढी—११ फिन्नेकोटका स्थानीय लोकबहादुर बोहराको भनाइ छ। उनले भने, ‘सम्बन्धित निकायसँग छेतिपूर्तिको माग गर्दा समेत दिएनन्।’

उनले बाँदर धपाउनका लागि स्थानीय प्रशासनले सहयो गर्नु पर्ने माग गरेका छन्। बाँदर आंतक भएपनि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेस्वर गाउँपालिका—१ का रमेशबहादुर ठकुराठीको आरोप छ। जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ। 

कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरुले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन्। स्थानीयको पीडा वर्षौदेखि जस्ताको त्यस्तै छ। जनप्रतिनीधिले पहल गरी आफ्ना समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने किसानहरुको अपेक्षा छ। तर अमरगढी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नरबहादुर साँर्की बाँदर आतंक निर्मूल पार्न समूदाय नै सचेत हुनुपर्ने बताउँछन्।

नेपाल कृषि प्रधानदेश भएकाले बाँदर न्युनिकरणका लागि  पहल गरेर कूषि उत्पादनमा जोड दिने उनको भनाइ छ। ‘स्थानीयहरुले आफ्नो बालवालिका जस्तै अन्नवालीलाई पनि माया गरेर रेखदेख गर्नु गर्यो।’ उनले भने, ‘समाज एक भएर लाग्यो भने बाँदर आतंक न्यनिकरण गर्न सकिन्छ।’ वडा अध्यक्षले धपाएर बाँदर आतंक न्यनिकरण नहने भएकाले समाजका सबैले एक जुट भएर लाग्नस पर्ने उनको भनाइ छ।

जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतंकले मुख्य खाद्यबालीको रुपमा रहेको मकै बचाउन हम्मे–हम्मे परेको छ।

उता अजयमेरु गाउँपालिकाले भने जंगली जनावरको आतंक न्यूनिकरणका लागि तारजालिको व्यवस्था गरेको छ। जंगली जनावरको आतंक न्युनिकरणका लागि अजयमेरु गाउँपालिकाले गाउँपालिकाको–२ मा तारजालिको व्यवस्था गरेको अजयमेरु गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष शिवराज भट्टले जानकारी दिए। जंगली जनावरबाट अन्नवाली जोगाउनका लागि गाउँपालिकाका ६ वटै वडामा तारजालिको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.