|

बैतडी : लगातारको वर्षाले बैतडीको दोगडाकेदार गाउँपालिका–८ ओसैलमा एकजनाको घर भत्किएको छ। बर्षातका कारण स्थानीय शमशेर बिष्टको घर बिहीबार राति भत्किएको वडा अध्यक्ष भक्तबहादुर बिष्टले जानकारी दिए। 

बर्षातका कारण चर्किन थालेको घर छोडेर तीनचार दिन अघि नै परिवार अन्यत्र सरेकाले मानवीय क्षति भएन् । मानवीय क्षति नभएपनि घरभित्रको अन्नपात सबै नष्ट भएको छ। दोगडाकेदार गाउँपालिका वडा नं ८ ओसैलमा ४ घर पहिरोको जोखिममा परेका छन् । ढिकगाड—मानलेक —गोरङ सडकका कारण स्थानीय डम्मर बिष्ट, विजय बिष्ट, हर्कबहादुर बिष्ट र धनबहादुर बिष्टको घर जोखिममा परेका हुन्। यस्तै सोही वडाको पितरकाँडा टोलमा पहिरोको जोखिम बढेको स्थानीय नरेन्द्र बिष्टले जानकारी दिए।  

घरतलतिरबाट काटिएको सडकमा पहिरो खसेपछि पहिरोले घर बगाउने चिन्ता बढेको स्थानीयहरुले बताएका छन्। जिल्लाका सबै ठाउँका कच्ची सडकले पहिरोको जोखिम बढाएको छ। यस्तै पुुरचौंडी नगरपालिका वडा नं १ को सीम बस्ती पहिरोको जोखिममा परेको छ। हाट–गन्ना सडकका कारण बस्ती नै पहिरोको जोेखिममा परेको स्थानीय जरी लुहारले बताए। बस्ती माथिबाट काटिएको सडकबाट पहिरो खसेकाले बस्ती जोखिममा परेको हो। सो ठाउँका १० घर पहिरोको जोखिममा परेका छन्। सडकमा नाली नकाटिएका कारण सडकबाट पहिरो खसेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए। नगरपालिकाको ५० लाखको लगानिमा निर्माण गरिएको सडकले गाउँघरमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन्।

यसैबिच  सुर्नया गाउँपालिका २ सतबाँझमा पहिरोका कारण स्थानीय लक्ष्मी भट्टको पसल जोखिममा परेको छ। पसलमाथिबाट पहिरो खस्न थालेपछि भट्ट परिवारलाई सुरक्षीत स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। यस्तै चमेलिया जलविद्युतको प्रशारण लाइनको पोल पनि पहिरोकोे जोखिममा परेकाले त्यसलाई जोगाउन प्लास्टिक छ्यापरे पानी तार्ने कार्य भएको छ। पोल नै पहिरोको जोखिममा परेपछि आज निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी लगायतको टोलीले सो ठाउँको अनुगमन समेत गरेको छ। 

स्वास्थ्यचौकीको भवन पनि जोखिममा 

बैतडीको सुर्नया गाउँपालिका ७ स्थित शिखरपुर स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेको छ। बर्षातका कारणले स्वास्थ्यचौकी माथिबाट खसेको पहिरोले स्वास्थ्यचौकीको भित्तातिर क्षति पुर्याएको स्वास्थ्यचौकीका इन्चार्ज भुपेन्द्र बिष्टले बताए। स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेकाले  भवन नै जोखिममा परेको हो।

स्वास्थ्यचौकी भवनको माथिबाट पहिरो खसेपछि भवनको कोठाभित्र पानी पसेको स्वास्थ्यचौकीका अहेव बीरबहादुर बोहराले बताए। माटोले स्वास्थ्यचौकीको भवनको पछाडीको भाग छोपेपछि पानी भित्र पसेको हो । कोठाभित्र पानी पसेपछि औषधी स्टोरमा समस्या भएको छ । करीब २ करोडको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन एक महिना अघि मात्रै स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो। स्वास्थ्यचौकीको माथिपट्टी भिरालो जमीन भएको र तलबाट टेवा पर्खाल नबनाएका कारण पहिरो खसेको बताइएको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.