|

बुटवल : बिहीबार राति बम प्रहार गरिएको सत्तारुढ दल नेकपाका प्रदेश –५ सचेतक भुमिश्वर ढकालको निवासको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत प्रदेशका मन्त्रीहरुले निरीक्षण गरेका छन्। 

गएराति साढे २ बजे सैनामैना–८ रामापुर स्थित ढकालको निवासमा तीन जनाको समूहमा आएका अज्ञात समूहले पाँचवटा पेट्रोल बम प्रहार गरेका थिए। बम प्रहार पछि सचेतक ढकालले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीको पछाडीको भाग पूर्णरुपमा क्षति भएको छ।  शुक्रबार बिहान प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहित सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, डाक्टर कृष्ण न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद कमला विश्वकर्मा, तारा जिसी, प्रमूख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, डिआइजी, एसपी, डिएसपीलगायतको टोलीले घटनास्थलको निरीक्षण गरेको छ। 

निरिक्षण पछि मुख्यमन्त्रीपोखरेलले घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे। मुख्यमन्त्री पोखरेलले घटनाको छानबिनका लागि कुनै कसुर नराख्ने भन्दै परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताए। 

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले घटनामा संलग्नको खोजबिन गरेर कानुनी दायरामा ल्याइने बताए। अपराधपुर्ण काम सह्य नहुने भन्दै उनले सांसदहरुले सुरक्षाको प्रत्याभूति गर्न सक्ने वातावरणको निर्माण गर्न जरुरी रहेको बताए। प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले घटनालाई कायरताको संज्ञा दिंदै छानबिन हुने बताए। 

घटनास्थलको निरीक्षण गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, नेकपा सैनामैना नगर कमिटीका संयोजक चेतनारायण न्यौपाने, कांग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर संयोजक यमलाल खरेललगायतले घटनाको निन्दा गरेका छन्। 

गएराति भएको घटनामा तीन वटा पेट्रोल विस्फोटन भएको थियो भने दुई वटा बम निष्कृय अवस्थामा फेला पारेको थियो। मोटरसाइकलमा चढेर आएका तीन जनाले बम हानेर भागेको प्रहरीले बतायो। सचेतक ढकाल सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ। सचेतक ढकाल चार दिनदेखि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत छन्। 

साथीको जन्मदिनलाई शुभकामना दिने भन्दै जागै बसेकी छिमेक घरकी किशोरी सरु आचार्य र साबित्रा पोखरेलले बमको आवाज सुनेपछि चिच्याएर गुहार मागेपछि  छिमेकीहरु जुटेर लगत्तै आगो निभाएका थिए। 

जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापासहितको प्रहरीको टोलीले राति नै घटनास्थल पुगेर निरीक्षण गरेको थियो। त्यसक्रममा प्रहरीले पेट्रोल र मट्टीतेल भरिएका बम फालिएको तर विस्फोट नभएको अवस्थामा फेला परेका थिए। प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.