|

काठमाडाैं : राष्ट्रिय खेल घोषणा भएपछि भलिबलका गतिविधि पहिला भन्दा धैरै बढिरहेका छन्।

राष्ट्रिय स्तरमा ठूला प्रतियोगिता निरन्तर भए पनि नेपाली भलिबलको अन्तर्राष्ट्रिय उपलब्धि भने नगन्य छ। अर्थात एभिसी सेन्ट्रल जोन भलिबलमा नै नेपालले जितको काश्य पदक अहिलेसम्मकै नेपाली भलिबलको सर्वाधिक ठूलो उपलब्धि हो।

एसियाली भलिबलमा तुलनात्मक रुपमा कमजोर देशहरूका लागि ठूलो प्रतियोगिता मानिने एभिसी सेन्ट्रल जोन प्रतियोगिता पहिलो पटक नेपालले आयोजना गर्दै छ। त्यसैले पनि नेपाल आफ्नो घरेलु कोर्टमा हुने प्रतियोगितालाई ऐतिहासिक बनाउन चाहन्छ।

त्यसो त अभ्यासमा अफगानिस्तानविरुद्ध लगातार दुई जित निकालेकाले नेपाल केही आत्माविश्वासी छ। लगनखेल स्थित सैनिक तालिम केन्द्रको कभर्डहलमा भएको स्पर्धाको दोस्रो खेलमा ३-२ ले नतिजा आफ्नो पक्षमा पार्दा सुरुवाती दुई सेट लगातार गुमाउन पुगेको थियो। तर उत्कृष्ट पुनरागमन गर्दा अन्तिमका तीन सेटमा नेपाल बाजी मार्न सफल भयो। भलै अभ्यास खेल भएकाले नेपालका लागि वास्तविक परीक्षा आगामी सोमबारबाट सुरु हुने छ।

नेपाली टिमका प्रशिक्षक हान अब्बिङले नेपाली टिमले अभ्यासमा राम्रो गरेको बताए। धेरै कमजोरी रहेको स्वीकारे। उनले भने, ‘हामीले बलियो अफगानिस्तानलाई हरायौं तर हामीमा अझै धेरै कमजोरीहरू प्रस्ट देख्न सकिन्छ। त्यसलाई सुधार्ने अवसरका रुपमा अभ्यासलाई प्रयोग गर्‍याैं।’ अफगानिस्तान विरुद्धको दुई जितले खेलाडीमा आत्माविश्वास बढेको उनको बुझाई छ।

त्यस्तै कप्तान इम राना मगरले दुई अभ्यास खेलमा आफ्ना कमजोरी सुधार्ने अवसर मिलेको बताए। ‘पहिलो खेलमा हामीले गरेका गल्तीलाई दोस्रो खेलमा सुधार्न सफल भयौं। ब्लक र रिसिभमा राम्रो गर्दा पछिल्ला तीन सेटमा पुनरागमन गर्न सफल भयौं।’

यद्दपि उनले प्रतियोगिताका लागि अझै तयारी कम भएको स्वीकारे। ‘हामीले अझैं तयारी गर्नुपर्छ अब केही दिनमा हामीमा देखिएका साना गल्तीहरू रोक्नुपर्छ।

माल्दिभ्स टिम आइपुग्यो

एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी हुन माल्दिभ्सको राष्ट्रिय भलिबल टिम नेपाल आइपुगेको छ। नेपालमा भदौ २ गते सुरु हुने प्रतियोगितामा सहभागिता जनाउन माल्दिभ्सको टिम शुक्रबार बिहान काठमाडौं आइपुगेको हो।

आयोजक नेपाल भलिबल संघले माल्दिभ्सको टिमलाई होटल क्राउन प्लाजामा बस्ने व्यवस्था गरेको छ। माल्दिभ्ससँगै बंगलादेश, कीर्गिस्तान र तुर्कीमिनिस्तान आजै काठमाडौं आउने कार्यक्रम रहेको छ। उज्वेकिस्तानको टिम भने आइतबार मात्र नेपाल आइ पुग्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.