छ वटा विद्यालयका लेखा शाखाहरूमा अनिश्चितकालीन तालाबन्दी

|

भद्रपुर : कचनकवल गाउँपालिकाको शिक्षा नीति एक विद्यालय, एक संकायविरुद्ध सडकमा उत्रिएका विद्यार्थी संगठनहरूले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै शुक्रबार निजी तथा सामुदायिक गरी ६ वटा विद्यालयका लेखा शाखाहरूमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले गाउँपालिकामा सञ्चालित कक्षा ११ र १२ का सामुदायिक विद्यायलतर्फ बनियानीस्थित लक्ष्मी मावि, पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडाँगी र निजीतर्फका विद्या निकेतन अंग्रेजी मावि, कचनकवल विद्या मन्दिर र स्वर्णिम शिक्षा सदन सुकुनाडाँगीका लेखा शाखाहरूमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य झक्तबहादुर विक, नेविसंघका जिल्ला सचिव नारायण नेपाल, अनेरास्ववियु जिल्ला सचिव रोशन लामा, नेवि संघ कचनकवल सभापति सागर राजवंशी, अनेरास्ववियु कचनकवल इन्चार्ज उमेश मिश्र, अखिल क्रान्तिकारी कचनकलव इन्चार्ज भरत नेपाललगायतले एक विज्ञप्ति जारी गर्दै छ वटा विद्यालयका लेखा शाखाहरूमा तालाबन्दी गरेको बताइएको छन्।

विद्यालयका लेखा शाखाहरूमा तालाबन्दी गरे पनि पठनपाठनमा अवरुद्ध नगरिएको अनेरास्ववियु जिल्ला सचिव रोशन लामाले जानकारी दिए। त्यस्तै संयुक्त विद्यार्थी संगठनले गाउँपालिकाको शिक्षा नीतिविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरू विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्।

आन्दोलनका कार्यक्रम अनुसार साउन ३१ गते लेखा शाखाहरू तालाबन्दी, भदौ १ गते कचनकवल गाउँपालिकामा धर्ना, भदौ २ गते कक्षा ११ र १२ पढाई हुने सम्पूर्ण विद्यालयका प्रशासन शाखामा तालाबन्दी र जनप्रतिनिधिहरूलाई विद्यालय हाताभित्र प्रवेश निषेध, भदौ ३ गते गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दी र भदौ ४ गते गाउँपालिकाभित्र शैक्षिक हडताल गरिने अनेरास्ववियुका जिल्ला सचिव लामाले जानकारी दिए।

विद्यार्थी संगठनहरूको यस आन्दोलन सशक्त बनाउन सत्तारूढ नेकपा र नेपाली कांग्रेसले समर्थन जनाएको छ। गाउँपालिकामा राप्रपाको बहमुत रहेको छ।  तोकिएकै विद्यालयमा शिक्षा लिनुपर्ने कचनकवल गाउँपालिकाको निर्णयविरुद्ध आन्दोलित बनेका संयुक्त विद्यार्थी संगठनले साउन २६ गते हात र निधारमा कालोपट्टि बाँधेर सिटी जुलुस निकाल्दै गाउँपालिका घेराउ गरेका थिए।

कचनकवल ५ स्थित बनियानी बजारमा भेला भएका करिब पाँच सय बढी विद्यार्थीले सिटी जुलुस प्रदर्शन गरी बजार परिक्रममा गर्दै करिब दुई घण्टा गाउँपालिका घेराउ गरेका थिए।

गत साउन १४ गते गाउँपालिकाको निर्णयअनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन संकाय, पथरिया माविमा व्यवस्थापन संकाय, अंग्रेजी माध्यममा र लक्ष्मी प्रसाद देवकोटा माविमा व्यवस्थापन संकाय अंग्रेजी माध्यममा मात्र पढाउनु पर्ने बाध्यकारी निर्णयले गाउँपालिकाका आम विद्यार्थी वर्गमा मार पर्न गएको हुनाले पहिला जस्तै विद्यार्थी वर्गलाई सर्वसुलभ पायक पर्ने गरी क्रमशः लक्ष्मी मावि, पथरीया मावि र लक्ष्मी प्रसाद देवकोटा माविमा शिक्षा र व्यवस्थापन संकाय दुवै माध्यममा अध्ययन गर्न पाउने भनी विद्यार्थी संगठनहरूले साउन २१ गते मागसहितको ज्ञापनपत्रमा बुझाए पनि हालसम्म गाउँपालिकाले सुनवाई नगरेको अवस्था छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.