|

दमक : झापाको बिर्तामोड हुँदै सदरमुकाम भद्रपुर जोड्ने सडकको स्तरोन्नत्ती गर्ने कार्य लामो समयदेखि अलपत्र परेको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयबासी र यात्रुले सास्ती ब्यहोर्दै आएका छन्।

बिर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको १२ किलोमिटर सडकको मर्मतकार्य अलपत्र छ। स्तरोन्नतीको जिम्मा पाएको थोदुङ्ग लोहनी सिंह एण्ड ब्रर्दश जेभी कम्पनीले बिचैमा काम छोड्दा लामो समयदेखि निर्माण कार्य अलपत्र भएको हो। यो सडक—खण्डमा बर्खामा पानी जम्ने र हिँउदमा धुलाम्मे हुने गरेको छ। त्यस्तै, निर्माणाधीन अवस्थामा छोडिएको संरचना र पुरानो कालोपत्रे पनि ठाँउ ठाँउमा भत्कदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

सडकमा धूलो उड्दा हिँड्नै नसने अवस्था आएको स्थानीयबासी चन्द्र बहादुर पौड्याल बताउँछन्। उनी भन्छन्, ‘धेरै भयो सडक बन्नेको तर अहिले सम्म जस्ताको तस्तै छ। बर्खाको समयमा सडकमा खोला बग्छ।'

सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम समेत बढेको स्थानीय समिर राजबंशीले बताए। उनले भने, ‘बाटोमा जताततै खाल्डा खुल्डी छ, कहाँ दुर्घटना हुने हो पत्तो छैन, त्यसैले यसको मर्मत कार्य तत्काल गर्न आवश्यक छ।'

सडक विभागले एसियाली विकास बैँकको सहयोगमा सासेक परियोजना अन्तर्गत २ लेनको सडकको रुपमा विकास गर्न निर्माण कार्य अघि बढाइएको थियो। सम्झौताअनुसार गत वर्ष नै सम्पन्न गर्नुपर्ने गरी सन् २०१४ जुनदेखि ठेकेदार कम्पनीले काम सुरु गरे पनि निर्माण कार्यलाई पूर्णता नदिई बीचैमा हराएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ।

१० करोडमा ठेक्का सम्झौता भएको उक्त कम्पनीले सम्झौता अनुसारको काम नगरे पछि सडक डिभिजन कार्यालयले बीचैमा सम्झौता तोडेको सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश कुमार यादवले बताए।

उनले भने, ‘ठेक्दार कम्पनीले काम नगरेपछि हामीले बाध्य भएर ठेक्काम तोडेका हौँ, ठेक्दार कम्पनीले अहिले यो मुद्दा अदालतमा पेश गरेको छ।' सडक डिभिजन कार्यालयका अनुसार २६ प्रतिशत मात्र काम पूरा भएको सो सडक खण्डलाई अदालतले फैसला गरे पछि मात्र स्तरोन्नतीका लागि नयाँ ठेक्का आह्वान गरिने उनले बताए।

उनले भने, ‘यो सडक खण्डमा सबै भन्दा धेरै बिर्तामोडस्थित बिर्ता बजारमा वर्षाको समयमा पानी जम्ने गरेको छ, यसमा सडक डिभिजनले मात्र गरेर हुन्न पानीको निकाशका लागि नगरपालिकाले पनि केही गर्न आवश्यक छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.