|

दाङ : कुनै पनि बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार गरिदएको सरकारले दाबी गर्दै आए पनि दाङको राजपुरबासीले स्वास्थ्य उपचारका लागि भारतको सीमावर्ती क्षेत्रको सहारा लिनुपर्ने बाध्यता छ।

राजपुर गाउँपालिकाका नाका क्षेत्रका नागरिक गाउँपालिकासम्म आउन भारतको बाटो हुँदै घन्टौ हिडेर आउनु पर्ने बाध्यता छ। नजिकमा गतिलो स्वास्थ्य केन्द्र नहुँदा उपचारको लागि पनि भारतको सीमावर्ती क्षेत्रका स्वास्थ्य केन्द्रको सहारा अझै हट्न सकेको छैन।

केही दिनअगाडि सर्पले डस्दा समयमै उपचार गर्न नपाउदा भारतीय नाका क्षेत्रका दुई जना बालिकाको मृत्यु भयो। उपचार गराउन स्वास्थ्य संस्थासम्म लैजान ढिलो भएका कारण दाङको राजपुर गाउँपालिका ६ भौवा नाका निवासी शेर बहादुर सार्कीका ११ वर्षीया करिष्मा सार्की र ८ वर्षीया सुजु सार्कीको सर्पले डस्दा मृत्यु भएको हो।

सडकको पहुँच नेपालतर्फ नहुँदा नाका क्षेत्रका नेपाली बासिन्दा भारतको सीमावर्ती क्षेत्रका बजारमा उपचार गराउन जान बाध्य छन्। भारतका सीमावर्ती बजारमा जान उनीहरूलाई २/३ घण्टा पैदल हिँडेर पुग्छन्। तर, दाङको भौवा नाकाका बासीलाई जिल्लाकै लमही गढवा, कोइलाबास जान त्योभन्दा कैयौँ बढी समय लाग्ने नाकाबासी अनमोल योगीले बताए। 

बिरामी बालबालिका, जेष्ठ नागरिक, सुत्केरीलाई उपचारको लागि भारततर्फ लैजादा बाटोमै अकालमै मृत्यु हुने गरेको योगीको भनाई   छ। साइकलमा राखेर बिरामीलाई भारतीय नाका पुर्‍याउन बाध्य भौवा नाकाबासीले साइकललाई एम्बुलेन्स भन्ने गरेको उनले बताए। 

'नाका क्षेत्रमा सडक छैन, नेपालतिर हिँड्दै आउन, एक दिन लाग्छ', उनले भने, 'तर नाका क्षेत्रका नागरिक बिरामी हुदाँ भारत जानु पर्दछ, भारत जानको लागी पनि गाडीमा नभई साइकलमा जानु पर्ने हुन्छ।'

'भारततीय गाडी नेपाल आउन पाउँदैनन्, नेपाली गाडी भारत जान पाउँदैन्', उनले थपे, 'अनि पैदल र साइकलमा लैजादाँ बिरामीहरूको अकाल मै ज्यान जाने गर्दछ।'

त्यसैगरी, राजपुर गाउपालिका-३ गुरुङ खोलाकी हिमा खड्काले ४ घण्टा हिँडेर बेला स्वास्थ्य चौकी आएको बताइन। ८ दिने शिशुलाई काखमा च्यापी पैदल हिँडेर स्वास्थ्य चौकी आएकी हिमालाई एक हप्ता त्यहि बसेर उपचार गर्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीले दिएका  छन्।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार पैसा अभावका कारण अन्य ठाउँ स्वास्थ्य संस्थामा लैजान सक्ने अवस्था नभएका कारण एक हप्तासम्म कोठा लिएर बस्नु पर्ने बाध्यता भएको उनले बताइन्। 

त्यसैगरी राजपुर गाउँपालिका भित्रका ३ वटा वडा कार्य क्षेत्र रहेको बेला स्वास्थ चौकीका हेल्थ सहायक संचिन्द्र कुमार यादवले केही सामान्य र रोकथामको लागि मात्र उपचार गरिने बताए। दक्ष जनशक्ति, प्रयाप्त औषधि, औजार, आवश्यक पूर्वाधारको अभाव कारण उपचारमा समस्या भएको उनले बताए। 'इमेरजेन्सीका बिरामी स्वास्थ्यचौकीमा आए थप उपचारका लागि अन्यत्र पठाइदिनु पर्ने बाध्यता छ', उनले भने।

त्यसैगरी, गाउँपालिका विकट क्षेत्र भएकाले नाका क्षेत्रका नागरिकलाई सडक नहुँदा समस्या भएको भन्दै गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ३ वटा सडक निर्माण हुन लागेको भन्दै त्यो सडक निर्माण सम्पन्न भए त्यहाँका नागरिकलाई सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताए। उनले यो आर्थिक वर्षदेखि प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको ५० लाख गरी ३ वटा सडक १/१ करोडको  लागतका निर्माण हुन लागेको बताए।

 

यता दाङका १० स्थानीय तहमध्ये सबैभन्दा बढी स्वास्थ्य संस्था स्थापना गर्ने राजपुर गाउँपालिका भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका ७ वटा वडामा प्रत्येक वडामा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि वडा नम्बर ७ मा मात्र ४ वटा र अन्य वडाहरूमा एक/एक वटा स्वास्थ्य इकाइहरू स्थापना गरिएको  गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेबी यादवले बताइन्। गाउँपालिका विकट भएका कारण नागरिकले सजिलैसँग सेवा सुविधा नपाएको उपाध्यक्ष यादवले बताइन्।  गाउँपालिकाको बेला र राजपुर स्वास्थ्यचौकीमा गत वर्षदेखि ल्याव सेवा र गन्गी हेल्थ पोस्टमा एमबिबिएस डाक्टर सहितको सेवा दिँदै आएको समेत गाउँपालिकाले जनाएको छ। 

नाका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न समयमा स्वास्थ्य शिविरहरू गर्दै आएको गाउँपालिकाले जनाएको छ। साथै गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने भन्ने योजना भएता पनि केन्द्र र प्रदेश सरकारले सहयोग गर्नु पर्ने उपाध्यक्ष यादवको भनाई छ।

गाउँपालिकाले  सुत्केरी महिलाको लागी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको उनले बताइन। गाउँपालिकाको आफ्नो एम्बुलेन्स नभएता पनि बाहिरबाट मगाएर सेवा दिँदै आएको उनको भनाइ छ। गाउँपालिकाले एम्बुलेन्स खरिदको लागी प्रक्रिया अगाडि बढाएको गाउँपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.