|

काठमाडौं : साहित्यकार भोजराज घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।

१६ वटा कथा संगृहीत उक्त कृतिमाथि समालोचकद्वय उपप्राध्यापक डा. विन्दु शर्मा र उपप्राध्यापक महेश पौड्यालले टिप्पणी गरेका थिए। पुस्तकमाथि समीक्षा गर्दै समालोचक पौड्यालले घिमिरेका कथामा जीवनबोधी चेतना रहेको उल्लेख गरे। उनले अन्तिम प्रश्नभित्रका कथाले नेपाली समाज, जनजीवन र नेपाली मनोविज्ञान उद्घाटन गरेको बताए।

पूर्वमुख्यसचिवसमेत रहेका घिमिरेका कथामा कथाकारका जागिरे जीवनका अनुभूति सूक्ष्म रूपमा आएका उल्लेख गरे। पौड्यालले  विषय विविधता घिमिरेका कथामा रहेको भन्दै सरल र सहज अनि मर्यादित भाषाशैलीको प्रयोग भएको पनि बताए।

यसरी नै अर्का समालोचक डा. विन्दु शर्माले अन्तिम प्रश्न कथाकृतिभित्रका कथाले समग्र नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेको बताइन्। डा. शर्माले पात्र चयनमा र परिवेश चित्रणमा कथाकार सफल भएका उल्लेख गरिन्। सन्दर्भ र परिवेशअनुसारका पात्रको चयन, उनीहरुको समाज र परिवेशअनुसारकै संवाद, कथाभित्रको द्वन्द्व, पात्रबीचका परिघटना निकै परिपक्व रहेको धारणा राखिन्। सलल बगेका कथाले घिमिरेको कथालेखनको सरलता र सौम्यता पुष्टि गर्ने उनको भनाइ थियो।

युवा समीक्षक घनेन्द्र ओझाले कवि, गीतकार, गजलकार हुँदै आख्यान लेखनमा प्रवेश गरेका घिमिरेका कथामा खास नेपाली माटोको, नेपाली संस्कृति र सभ्यताको अनि नेपाली भाषा र पनको स्वाद पाइने बताए। शिष्ट भाषा, सभ्य शैली र सरल प्रस्तुति कथाकार घिमिरेका कथामा पाइने ओझाको भनाइ थियो।

पूर्वमुख्यसचिव कवि तथा गीतकार डा. विमल कोइरालाले सिर्जना कर्म अत्यन्त गाह्रो काम हुने धारणा राखे। जीवनको उत्तराद्धकमा आएर विधाभञ्जन गर्नु चानचुने कुरा नभएको कोइरालाको भनाइ थियो। घिमिरेको पछिल्लो समयमा देखिएको लेखनप्रतिको ऊर्जा देख्दा आफूलाई खुसी र अचम्म दुवै लागेको कोइरालाले बताए।

कथाकार घिमिरेले आफू लामो समयसम्म सेतो घोडाको नियति बाँचेको र कार्यव्यसनमा आफैँ पनि फसेको बताउँदै धेरैजसो कथा आफ्नै देखाइ, भोगाइ र अनुभूति भएको उल्लेख गरे। अब उपन्यास लेखनमा रुचि बढेको घिमिरेको भनाइ थियो।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेको जागिरे जीवन, घिमिरेले भोगेको परिवेश र अनुभूत गरेका परिस्थिति नै घिमिरेका कथामा आएको उल्लेख गरे। कुलपति उप्रेतीले पूर्वप्रशासकका व्यक्तिगत अनुभव र अनुभूति कथाका रुपमा आएका हुनसक्ने भन्दै उक्त कथा पढ्दा पाठक भावुक र रोमाञ्चित दुवै बन्नसक्ने धारणा राखे।

प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेलले घिमिरेका कथामा रहेको नेपालीपन, आमनेपालीका विषय र आमनेपालीका दुःखको अभिव्यक्तिले पाठकको मन र मस्तिष्कमा गहिरो छाप पार्नसक्ने बताए। पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.