इलाम : तुल्सिलाल अमात्य स्मृति पाँचौ राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधी थापाथली चेस क्लबले जितेको छ। फाइनल खेलमा गजुरमुखी चेस क्लब इलामलाई सडनडेथमा हराउँदै थापाथलीले उपाधी जितेको हो। निर्धारित चालमा खेल २–२ को बराबरी भएपछि भएको ब्लिज गेममा पनि २–२ बराबरी भएपछि निर्णय सडनडेथबाट गरिएको थियो।
बिजेता भएसँगै थापाथलीले नगद १ लाख ७५ हजार प्राप्त गरेको छ। उसले एसियन टिम च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फबाट सहभागीता जनाउने नेपाल बुद्धिचाल संघका उपाध्यक्ष विदुर गौतमले जानकारी दिए। यस प्रतियोगितालाई राष्ट्रिय टिम च्याम्पियनसिप मान्यता दिएको थियो। उपविजेता बनेको इलामले १ लाख रुपैयाँ प्राप्त गर्दा तेश्रो बनेको गोल्डेनगेट कलेजले ६० हजार र चौथो लुम्बिनी एभरेष्ट मेनेजमेन्ट रुकुमको टिमले ४० हजार पुरस्कार पाएको छ।
इलामले गोल्डेनगेटलाई १.५ कोविरुद्ध २.५ अंक ल्याउँदै फाइनल पुग्दा थापाथलीले रुकुमलाई चार शून्यले हराएको थियो। तुल्सिलाल स्मृति भवन ललितपुरमा सम्पन्न प्रतियोगितामा २१ वटा क्लवहरू सहभागि रहेको थियो।
नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्स क्लबले प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा नेपालका फिडे मास्टर मनिष हमाल, भुपेन्द्र निरौला (निरज), रिजेन्द्रराज भण्डारी, सुरबिर लामा, रुपेश जौशबाल, प्रकाश नेपाललगायतका खेलाडीको सहभागीता रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।