|

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव जर्बजस्ती टेबल गर्न खोजेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिएका छन्। 

प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले शनिबार नयाँ बानेश्वरमा गरेको ‘सडकबाटै समाचार सम्प्रेषण’ कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईले चुप लागेर नबस्ने चेतावनी दिएका हुन्। ‘प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संविधान र न्यायपालिकाको क्षेत्राधिकारमाथिको हस्तक्षेप हो,’–भट्टराईले भने, ‘संविधान र न्यायलयलाई समेत हस्तक्षेप गरेर ल्याएको प्रस्ताव सरकारले जबरजस्ती टेबल गर्न खोजे व्यवस्थापिका संसद्‍मा रहेका २ सय बढी सांसद् हातमा दही जमाएर बस्दैनन्।’ 

उनले सरकारलाई संशोधन प्रस्ताव फिर्ता लिन बाध्य बनाउने गरी पुस २२ गते नेकपा एमाले सहितका ९ दलले राजधानीमा प्रदर्शन गर्ने बताए। ‘आज हामीले पहिलो पटक सडकबाटै समाचार सम्प्रेषण गरेर सांकेतिक प्रदर्शन गरेका छौँ,’–उनले भने, ‘यस्ता प्रदर्शनहरु २२ गते अघि हजारौँ गर्ने छौँ।’ 

उनले शनिबार मात्रै पनि उपत्यकामा २२ गतेको तयारीका लागि सयौं कार्यक्रमहरु भएको जानकारी दिए। ‘उपत्यकाका तीन वटै निर्वाचन क्षेत्रदेखि गाँउ–गाउँ, टोल–टोलसम्म भेला तयारी भेला भएका छन्,’–उनले भने, ‘हामी २२ गते दुई लाख बढी मान्छे सडकमा उतार्छौ। त्यति गर्दा पनि सरकारले असंवैधानिक प्रस्ताव फिर्ता लिएन भने हामी ती भन्दा डरलाग्दा कार्यक्रम गर्न बाध्य हुनेछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.