|

जाजरकोट : बारेकोट गाउँपालिका लैखम खालकाटीयाकी ५५ वर्षीया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै बित्यो। उनलाई घरको अन्य कामकाजभन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो। 

सोही ठाउँकी कमला खत्रीको पनि पीडा उस्तै थियो। पानीका लागि ठूलै संघर्ष गर्नु परेको भद्रकलाले सुनाइन्। भद्रकला र कमला मात्र होइनन्, गाउँका १०० घरका महिलाको पीडा उस्तै थियो। उनीहरु एक गाग्री पानी लिन दुई घण्टा पैदल हिँडेर नमेलाखोलाको नाउलामा पुग्थे। पुगेर मात्र पानी कहाँ पाउँथे र, पालो कुर्नुपर्ने बाध्यतासमेत थियो।

उनीहरुले त्यो दुःखबाट पार पाएका छन्। अहिले घर नजिकै खानेपानीको सुविधा छ। चार किलोमिटर टाढाको नंउपानी मुहानबाट खानेपानी ल्याइएको छ। बारेकोट गाउँपालिकाको ४८ लाख लागत र स्थानीयको श्रमदानबाट खानेपानी आयोजना निर्माण भएको बृहत् खानेपानी उपभोक्ता निर्माण समितिका सचिव रणबहादुर खत्रीले जानकारी दिए। उक्त आयोजनाबाट १०० घरधुरिलाई पायक पर्ने गरी १४ वटा धारा राखिएको छ। धारामा चौबिसै घण्टा पानी आउने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

‘पानी सुविधा पुगेपछि विशेष गरी महिलालाई समयको बचत भएको छ, पानी बोकेर धेरै दुःख पाएका स्थानीयलाई सुविधा पुगेको छ,’ अध्यक्ष शाहले भने, ‘खानेपानी दीर्घकालसम्म सञ्चालन गर्न उपभोक्ता आफै लाग्नुपर्छ।’

बारेकोट गाउँपालिका–८ को पैरेखाली, खालकाटीया, रिमदारा, रातापोख्रा, पखेरी, माथिगाउँ लगायत गाउँमा आयोजना निर्माण सुरु भएको तीन वर्षपछि खानेपानी आएको स्थानीय ६८ वर्षीय मनबहादुर खत्रीले बताए। यस आयोजना सम्पन्न नभइञ्जेलसम्म वर्षामा आकाशे पानी जम्मा गरेको पानी खानुपर्ने बाध्यता, हिउँदमा नाउलाको पानी ओसार्नुपर्ने समस्या थियो। अहिले धेरै सहज भएको हरिबहादुर खत्रले बताए। 

वर्षौंदेखि कुवा, खोला र खोल्साको दुषित पानी खाँदै आएका स्थानीयवासी अहिले धाराको पानी प्रयोग गर्न पाउँदा हर्षित भएका छन्। शुद्ध पानीको अभावमा झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट पीडित स्थानीयले मुक्ति पाउने आशा गरेको स्थानीय मानबहादुर सिंहले बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.