|

धनकुटा : नेपाल भ्रमण वर्ष २०२० सुरु हुन केही महिना मात्रै बाँकी छ। समग्र मुलुकभर सन २०२० को अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना तयार भएको छ। यो अवधिमा आन्तरिक तथा बाह्य पर्यटक गरी ५ लाख भित्र्याउने लक्ष्यका साथ धनकुटामा पर्यटन व्यवशायी जुट्न थालेका छन्। धनकुटाको चर्चित पर्यटकीयस्थल भेडेटार, नाम्जे, डाँडाबजार, राजारानी, हिले, पाख्रिबास लगायतका स्थानमा पर्यटन वर्षलाई लक्षित गरी तयारी थालिएको छ।

ती स्थान भित्रिने मुख्य द्वार भेडेटारमा पर्यटन वर्षमा पर्यटक आकर्षणका लागि थप अभियान थालिएको पर्यटन व्यवशायी विष्णुराज श्रेष्ठले बताए। ३० वर्षदेखि पर्यटन क्षेत्र तथा होटल व्यवशायमा सम्लग्न श्रेष्ठ पर्यटन वर्षको तयारीमा जुटेको बताए।

यस्तै भेडेटारको नाम्जे गाउँमा पनि पर्यटन वर्षको रौनक सुरु भएको छ। विश्वको उत्कृष्ट गन्तव्यमा सुचिकृत नाम्जेमा दैनिक २ देखि ३ सय आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेकोमा पर्यटन वर्षको अवधिमा पाँच लाख पर्यटक भित्र्याउन तयारी गरिएको नाम्जे होमस्टे सञ्चालन समितीका अध्यक्ष अनिल रानाले बताए। उनले पर्यटन वर्ष २०२० लाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए।

होटल एशोसिएसन भेडेटारको अगुवाईमा पर्यटन वर्षलाई मध्यनजर गरी भेडेटारमा धरान उपमहानगर पालिकाको सहयोग सांस्कृतिक संस्था खोलिने भएको छ। जसमा विभिन्न सात जातजातिको भेषभुषा र गरगहना समावेश गरिने भएको छ।

सामान्य अवस्थामा पनि भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटकको चाप हुने गरेकोमा पर्यटन वर्ष घोषणा गरिएपछि थप व्यवस्थानमा जुटेको होटल एशोसिएसनका निवर्तमान अध्यक्ष लीलाराज लावतीको भनाई छ।

सरकारले दुई वर्ष पहिले नै पर्यटन वर्ष २०२० घोषणा गरिसके पनि अपेक्षाकृत तयारी नगरिएको गुनासो चुलिएको छ। तर, स्थानीय स्तरमा यसतर्फ चासो बढिरहेकोले सरकारले बाFकी पाFच महिनाको अवधिलाई द्रुत गतिमा तयारी नथालिए पर्यटन वर्ष घोषणामा मात्र सिमित हुने अवस्था आएको पर्यटन व्यवसायीको भनाइ छ।

तराईमा गर्मी पहाडमा अवसर

यतिबेला तराईमा गर्मी अत्याधिक बढेको छ। केही समय अधि परेको निरन्तरको वर्षा पछि दिनभरि लाग्ने टण्टलापुर घामले तराईको जनजीवन प्रभावित भइरहेको छ। बाटोमा हिँड्दा उखरमाउँदो गर्मीको तातो रापले सर्वसाधारण घरभित्रै बस्न बाध्य छन। तराईमा अधिकतम ४० डिग्री सेल्सियस पुगेको तापक्रम पुगेको छ। तराईको गर्मीका कारण पूर्वी पहाडका लागि गतिलो अवसर बनिरहेको छ।

तराईमा भइरहने गर्मीका कारण पूर्वी पहाडका पर्यटकीयस्थल चम्किरहेका छन्। तराईका जिल्लामा गर्मीले आजित भएकाहरु सामान्य फुर्सद मिल्नासाथ पहाडतिर चढ्ने गरेका छन। विशेष गरेर सार्वजनिक बिदाका दिन पूर्वी पहाडका पर्यटकीयस्थल भरिभराउ हुन्छन्।

जलवायु परिवर्तनले हरेक वर्ष गर्मी बढिरहँदा पहाडी क्षेत्रमा भने नयाँ/नयाँ पर्यटकीयस्थल थपिँदै छन्। गर्मी मौसममा सबैभन्दा धेरै मानिसको भिड हुने पहाड भनेको धनकुटाको भेडेटार र इलामको अन्तु, फिक्कल र कन्याम नै हो। अहिले भेडेटार ‘चिसो खान’ आउनेहरुले खचाखच छ। भेडेटार चोक, शंखेश्वर मन्दिर, नाम्जे, आत्माघर जताततै चिसोको स्वाद लिँदै सेल्फी खिच्नेहरू धेरै मात्रामा भेटिन्छन।

पूर्वी तराई र भारतका विभिन्न ठाउँबाट आउने पर्यटककै कारण भेडेटारका सयभन्दा बढी होटल, रेस्टुरेन्टको व्यवसाय धानिएको छ। भेडेटारबाट नौ किलोमिटर धनकुटातर्फ ओरालो झरेपछि पुगिने नमस्ते झरनामा पनि यो गर्मी मौसममा नुहाउने र रमाउनेको उस्तै भीड छ। झरनाको प्रवेशद्धारमा पर्ने नमस्ते गोलाईदेखि नै होटलहरुमा पनि भिड लागेको छ।

आन्तरिक पर्यटकका विभिन्न रोजाइ

चिसोमा रमाउनेहरुका लागि धनकुटाको हिले, सिधुवा, तेह्रथुमको बसन्तपुर, लसुने तराईका पर्यटक आकर्षण गराउने केन्द्र बनिरहेका छन। सोही क्षेत्रमा पर्ने तीनजुरे मिल्के जलजलेमा पनि गर्मी सुरु भएदेखि नै आन्तरिक पर्यटक बाक्लिन्छन्। २८ प्रजातिका गुराँस एकै क्षेत्रमा पाइने यो ‘गुराँसको राजधानी’मा पनि घुम्ने धेरै भेटिन्छन्। होटल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्टका अनुसार यतिबेला चिसो मौसमका ठाउँमा रहेका अधिकांश होटल भरिभराउ छन्।

पहाडी क्षेत्रको पनि बाह्रै महिना चिसो हुने ठाउँका होटल व्यवसाय घुम्नेहरु धेरै आउने हुँदा व्यवसाय राम्रो रहेको छ। यस्तै, इलामको फिक्कल, कन्याममा चियाबगानमा रमाउन पुग्ने पनि धेरै छन यतिबेला।

पाँचथरको रवि, फिदिम हुँदै ताप्लेजुङको पाथिभरा मन्दिरसम्म दर्शन गर्न पुग्ने पनि बाक्लै भेटिन्छन्। उदयपुरको रौता पोखरीमा पनि गर्मी छल्न पुग्ने तराईवासीको संख्या बढिरहेको छ।

ट्राभलिङ धरानका निर्देशक वासुदेव बरालको अनुभव छ, ‘आन्तरिक पर्यटकले नै पूर्वमा पर्यटकीय गन्तव्य धानिएका छन। सरकारले लगानी गर्ने हो भने विदेशी पर्यटकको पनि उल्लेख्य उपस्थिति हुन्छ।’

गर्मी बढेसँगै धनकुटाको मूलघाटस्थित तमोर नदीबाट सप्तकोशीको चतरासम्म र्याफ्टिङ गर्नेको संख्या पनि बढ्दो मात्रामा रहने गरेको छ। तर, यो समयमा बाढीले जोखिम बढी हुने हुनाले र्याफ्टिङ भने बन्द गरिएको छ। पर्यटकलाई आकर्षण गर्न साइक्लिङ पनि पूर्वको रमाउन थालेको दुईचार वर्ष बितिसक्यो। विशेष गरी धरानमा साइक्लिङका गतिविधि भइरहेका छन।

सरकारले हरेकवर्ष आन्तरिक पर्यटनको विकास गर्ने नीति लिएको हुन्छ तर पूर्वाधार तयार गर्न भने सरकारले सहयोग नगरेको पर्यटन व्यवसायीको गुनासो छ। हिले पर्यटन प्रवद्र्रधन विकास समितिका अध्यक्षसमेत रहेका विष्ट भन्छन, ‘हामीले विदेशीको मुख ताकेर बस्नुभन्दा आन्तरिक पर्यटन विकासमा स्थानीयवासी र स्थानीय निकाय जुट्ने हो भने छिटो प्रगति हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.