|

कञ्चनपुर : कञ्चनपुर सहित सुदुरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै छ। 

डाेटेली भाषा शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’ लाई जनाउँछ। यस्तो सम्मानोपहार दिने 'विशेष दिन' नै ओल्के संक्रान्तिका नामले सुदूर पश्चिममा धुुमधामसँग मनाइन्छ। यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ। ओल्के पर्वका अवसरको सदुपयोग गर्दै महिलाले हातमा चुरा र मेहन्दी लगाउने गर्दछन।

विहानै गाइको गोवरले घर लिपपोत गरी ब्रम्हणलाई दान दक्षिणा र निश्राम दिने चलन यस पर्वमा रहेको छ। ओल्के पर्वका अवसरमा मिठा मिठा परम्परागत पकवान तयार गरी दिदि बहिनी र मान्यजनलाई भेटने चलन रहेको छ। पर्वका अवसरमा मालपुवा, खिर, सेलरोटी, हलुवा लगायतका पकवान तयार गरी परिवारसँगै बसेर खाने चलन रहेको छ।

विदेशमा रहेकाहरू समेत भेटघाटका लागि यस बेला घर आउने गर्दछन। ओल्के पर्वमा गाई गोठालाले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सु लगायतका विरुवाका हाँगा र पातहरू संकलन गरी पुतना बुढीको प्रतिमा बनाउने गर्दछन राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेको दिनको सम्झना गर्दै बुढी तयार गरिँदै आएको छ।

तयार गरिएकी बुढीलाई असोज महिनाको संक्रान्तिका दिन पोल्ने गरिन्छ। आजकै दिन सूर्य कर्कट रेखामा प्रवेश गरी गर्मीका दिन हटेर चिसोका दिन शुरु हुने भएकाले यस पर्वको महत्व रहेको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारीले बताए।

ओल्के पर्वको महत्वका बारे जानकारी दिँदै उनले प्राचिन कालमा भदौ १ गतेका दिन रैतिहरूले राजाको महलमा गई आफ्ना घरमा भएका फलफूल मिष्ठान परिकार लगेर उपहार दिने चलन रहेको थियो। त्यस पछि राजाहरू हटेपछि गाउँका मुखियालाई सो उपहार दिने चलन रहेको उनले बताए।

परिवर्तित समय अनुसार हाल घरका ज्येष्ठ नागरिकलाई उपहार दिने गरिन्छ। यस पर्वका अवसरमा दलित समुदायका व्यक्तिले परम्परागत सीपको प्रयोग गरी बनाएका कृषि औजार, अन्न राख्न प्रयोग हुने बेतवाँसका सामग्री उपहार स्वरुप टक्रर्‍याई अन्न, पैसा माग्ने चलन विगतमा थियो। हाल यो चलन परिवर्तित समय अनुसार हटेको छ। 

दलित समुदायले उपहार दिएबाफत माग्ने कार्य लाई स्थानीय डोटेली भाषामा 'त्यारवाणो' भन्ने गरिन्थ्यो। चेतनाको विकाससँगै तराई क्षेत्रमा यो चलन हट्दै गए पनि पहाडी क्षेत्रका डडेल्धुरा, बैतडी, दार्चुला बझाङ, अछाम, बाजुरा र डोटीमा यो चलन यद्यपि छँदैछ।

वर्षमा एक पटक आउने यस पर्वमा एक आपसमा भेटघाट हुने र सुख दुखका कुरा साटा साट गर्ने अवसर जुटने भएकाले सामाजिक सदभाव कायम गर्न यस पर्वको महत्वपूर्ण योगदान रहेको छ। डोटी लगायतका केही जिल्लामा भने यस पर्वमा मन्दिरमा देवताहरूलाई समेत ओल्को अर्थात उपहार चढाउने चलन समेत रहेको छ।

यो पर्व सुदूरपश्चिमका नौ जिल्लासहित भारतको उत्तराखण्डको कुमाउ गढवाल क्षेत्रमा समेत मनाइने गरिन्छ। डोटेली भाषामा ओल्को भन्नले कोसेली वा उपहार भन्ने गरिएकाले यस अबसरमा मान्यजन र दिदी बहिनीलाई भेटी भलाकुसारी गर्ने दिनका रुपमा यस पर्वलाई लिइने गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.