कसैलाई धरौटी, कसैलाई कारागार

|

विराटनगर : पत्रकार शालिग्राम पुडासैनीको आत्महत्यापछि सार्वजनिक भएको उनको भिडियोमा आत्महत्या गर्नुको कारण भन्दै दोष लगाइएका टेलिभिजन  प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

पुडासैनीको भिडियोमा दोष लगाएकै आधारमा पक्राउ परेका मात्रै होइनन्, लामिछाने र अन्य दुईजनाविरुद्ध आइतबार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध  संहिताअनुसार कारबाही माग गरिएको छ।

ठीक एक वर्ष अगाडि २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताअनुसार मोरङमा मुद्दा पर्ने क्रम सुरु भइसकेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका-१ का प्रेम राई झुण्डिएको अवस्थामा मृत भेटिए। प्रेमलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा परेको मुद्दाले उनकी प्रेमिका सन्जु विश्वकर्मा मोरङ कारागारमा थुनामा छिन्।

प्रेमकी श्रीमती बिमलाले परिस्थितिजन्य आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा किटानी जाहेरी दिएपछि अदालतले सन्जुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। उनी दुई महिनादेखि थुनामा छिन्।

यस्तै, अघिल्लो वर्ष २०७५ असोज ७ गते १९ वर्षीया ऐश्वर्य आचार्यले झुण्डिएर आत्महत्या गरिन्। मोरङ रंगेली ८ दर्वेसाका ढकप्रसाद आचार्यले छोरीको आत्महत्या स्थानीय विशाल दाहालको दुरुत्साहनका कारण भएको भन्दै जाहेरी दिए। अदालतले दाहालसँग ५० हजार धरौटी लिएर पुर्पक्ष गर्न आदेश दियो। दाहाल धरौटीमा रिहा भए पनि मुद्दा अदालती प्रक्रियामै छ।

मुलुकी अपराध संहिता २०७४ लागू भएको एक वर्षको अवधिमा जिल्ला अदालत मोरङमा तीन वटा मुद्दा दर्ता भएको छ। ती सबैमा अदालतले वादीकै पक्षमा आदेश दिएको छ। तीनमध्ये एउटा मुद्दाको प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेको जिल्ला अदालत मोरङका श्रेष्तेदार इश्वरमणि ओझाले जानकारी दिए।

ऐनको परिच्छेद १२ को दफा १८५ उपदफा १ मा कसैले कसैलाई आत्महत्या गर्न गर्न दुरुत्साहन दिन नहुने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भनिएको छ। त्यसो गरेमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ।

दुरुत्साहनसम्बन्धी मुद्दा पीडितको जाहेरीका आधारमा प्रहरीले अघि बढाउँछ। मोरङको पथरीमा केही महिनाअघि भएको रिना बस्नेतको मृत्युको विषयमा दुरुत्साहन आकर्षित हुने प्रयाप्त आधार रहेको कानुन व्यवसायीहरूले बताउँदै आएका छन्। यद्यपि प्रहरीले त्यस घटनामा भने दुरुत्साहन गरेको मुद्दा अघि बढाएको छैन।

यता, पुडासैनी मृत्यु प्रकरणमा प्रहरी अनुसन्धानकै चरणमा रहेको छ। प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरी उक्त घटनामा अनुसन्धान सुरु गरेको हो। 

टेलिभिजन पत्रकार पुडासैनी साउन २० गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। मृत्युपूर्व रेकर्ड गराएको भिडियोमा उनले न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको नाम लिएका थिए।

त्यही आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरी चितवन लगेको छ। प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतबाट बिहीबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.