|
तस्बिर : रकम असुलेर सम्पर्कविहीन बनेका भनिएका गिरेन्द्र साह

विराटनगर : वैदेशिक रोजगारीको प्रलोभन पारेर ठगी गर्ने क्रम रोकिएको छैन। सरकारले विभिन्न खालका नीतिगत परिवर्तन गरेपनि ठगिने सर्वसाधरण र ठगी गर्नेहरूको संख्यामा कमी नआएको हो। पछिल्लो पटक सुनसरीको हरिनगरा–४ का ३५ वर्षीय गिरेन्द्र साहले वैदेशिक रोजगारमा लगिदिन्छु भन्दै झण्डै १२ लाख असुली गरेको सार्वजनिक भएको छ।

उनले सातजनाबाट प्रतिव्यक्ति एक लाख ७० हजारका दरले ११ लाख ९० हजार उठाएको पीडितको भनाइ छ। साह भने हाल सम्पर्कविहीन छन्। ठगीमा पर्नेहरूमा हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल रहेका छन्।

पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन्। कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले साहका नाममा पक्राउ पुर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरेको जानकारी दिए।

वैदेशिक रोजगारीका लागि दुवई पठाउने भनेर गत वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुर्‍याएपछि आफूहरू फिर्ता आउनु परेको युवाले दिएको उजुरीमा उल्लेख छ। कामदारका रूपमा लैजाने भने पनि पर्यटक भिसामा पठाउन लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित महेशकुमार मेहताले बताए। पीडितका अनुसार साहले काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पुर्‍याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग गत चैतबाट पैसा उठाएका थिए।

यता, युवाले आफूहरु"बाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितविरुद्ध उल्टो रिट हालेका छन्। विभिन्न धाक, धम्की दिएको भन्दै विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिनु पर्ने माग गर्दै उनले रिट दायर गरेका हुन्। सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको युवाले बताएका छन्।

श्रम अधिकृत सञ्जेलले दुवई पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको बताए। वैदेशिक रोजगार ऐनमा मेनपावर नभइ कोही कसैलाई विदेश पठाउन र त्यस्तो प्रलोभन देखाउन नपाइने उल्लेख छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.