|

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको टिप्पणी गरेका छन्। जनताको आकांक्षाबमोजिम प्रदेश-२ सरकारले काम नगरेको पनि उनले बताएका हुन्।

सोमबार धनुषाको बरमझियामा आयोजित शहीद रामवृक्ष यादवको स्मृति सभालाई सम्बोधन गर्दै प्रदेश २ सरकारमाथि अनेकौँ प्रश्न तेर्साए। ‘प्रदेश २ मा विकासले गति लिन थाल्यो त?, भ्रष्टाचार रोकियो त? सुशासन कायम छ त?,’ प्रचण्डले भने, ‘मैले बुझेसम्म छैन।’ प्रदेश २ का जनता झन् दुःख पाइरहेका छन्– उनले भने।

अध्यक्ष प्रचण्डले जनताले बोकेको आकांक्षाबमोजिम प्रदेश २ सरकार काम गर्न नसकेको समेत बताए। उनले चुरे संरक्षण र बाढीको दिर्घकालीन समाधान नभएसम्म प्रदेश समृद्ध नहुने तर्क गरे। उनले भने, ‘बाढीले प्रत्येक वर्ष ठूलो जनधनको क्षति गर्छ। त्यसैले यसको दिर्घकालिन समाधान गर्नुपर्छ।’

चुरे वरिपरि जलाधार सुक्न थालेकोमा पनि अध्यक्ष प्रचण्ड चिन्ता व्यक्त गरे। उनले जलाधार पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए। भने, ‘जबसम्म मास्टर प्लानसहित चुरे संरक्षण हुँदैन, तबसम्म तराईको मरुभूमीकरणको स्थायी समाधान हुन सक्दैन।’ सबै खोला नालामा तटबन्ध बनाउनुपर्ने पनि उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले मधेसमा आगलागीका समस्या पनि विकराल रहेको भन्दै सबै झुप्रा घरलाई जनता आवास कार्यक्रमअन्तर्गत पक्की घरमा परिणत गर्नुपर्ने धारणा राखेका छन्।

को हुन् रामवृक्ष?

निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध भएको जनयुद्धका शहीद हुन् रामवृक्ष यादव। जनयुद्धको तयारीमा लागेका बेला उनको २०५१ भदौ २ गते हत्या भएको थियो। उनलाई गाउँघरमा ‘मास्टर साहेब’ नामले सर्वसधारण चिन्थ्यो। यादवको एकमात्र छोरा चन्द्र शेखर यादवसमेत जनयुद्धमै मारिए। उनकी पत्नी रामकुमारी यादवको काठमाडौंमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर मृत्यु भएको थियो।

आज २५ औं स्मृतिसभामा रामवृक्षलाई सम्झिँदै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्ध सफल हुनुमा रामवृक्षको ठूलो योगदान छ। उहाँ क्रान्ति कसरी सफल हुनेमा जहिल्लै सल्लाह दिने सहयोद्धा हुनुहुन्थ्यो।’ रामवृक्षको योगदान तराई मात्र नभएर हिमाल, पहाडले समेत बिर्सिन नसक्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.