​भारतीय विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

|
नेपालका परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री जयशंकर

काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा नेपालले राख्‍ने एजेन्डा तय भएका छन्। दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने उक्त आयोगको बैठकमा नेपालका एजेन्डा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेका छन्।

मन्त्री ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर नेपालले आयोजना गर्न लागेको बैठकमा प्रस्तुत गरिने एजेन्डा र सहभागी हुने अधिकारीहरूबारे जानकारी दिएका हुन्।

बैठकमा नेपालका तर्फबाट मुख्यतः पाँच एजेन्डाबारे छलफल गरिने उनले जानकारी दिए। राजनैतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृतिबारेका विषय आयोगको बैठकका एजेन्डा हुने उनले बताए।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर सहभागी हुने बैठकमा विगतमा सरकार प्रमुखबीच भएका सम्झौताको कार्यान्वयनबारे पनि छलफल हुने भएको छ। भारतले नेपालमा लगानी गर्ने भनेर गरेका प्रतिबद्धताबारे पनि कुरा उठाउने नेपाली पक्षले जानकारी दिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघिका नेपाल भ्रमणमा गरेका प्रतिबद्धता पूरा नगरेको नेपाली पक्षको भनाइ छ। बैठकमा विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मूल्याकंन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए।

ईपिजीको प्रतिवेदनबारे छलफल

नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनबारे पनि कुरा उठाउने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। उनले भारतीय पक्षलाई छिटो प्रतिवेदन बुझेर कार्यान्वयनमा लैजान आग्रह गरिने बताए। उनले भने, 'ईपीजीको विषयमा छलफल हुन्छ। तयार भएको प्रतिवेदन दुवै प्रधानमन्त्रीले बुझेर कार्यान्वयनमा लैजानुपर्छ भन्ने कुरा बैठकमा उठाउनेछौँ।'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय उपलब्ध नगराएका कारण उक्त प्रतिवेदन अलपत्र परेको छ। सीमा र विवादीत सन्धीको पुनरावलोकन गर्नका लागि दुवै मुलुकले ईपीजीको गठन गरेका थिए। स्थलगत र पटकपटकका छलफलपछि उक्त प्रतिवेदन तयार भएको छ। तर, प्रतिवेदन तयार भइसक्दा पनि भारतीय पक्षले उक्त प्रतिवेदन बुझ्न नमानेको बताइएको छ।

सिमानाका भारतीय संरचना एजेन्डा

दुई देशको उच्चस्तरीय कमिटी बैठकमा सिमानामा भारतले निर्माण गरेका संरचना र तिनले नेपालमा पारेको प्रभावबारे पनि छलफल हुने भएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले डुबान दुवै देशले भोगिरहेको र यसबारे विगतमा भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच पनि छलफल भइसकेकाले यो विषयमा भइरहेका गतिविधिबारे थप छलफल हुने बताए। उनले डुबानबारे संयुक्त कार्यदल पनि बनेको र त्यसका कामको प्रगतिबारे छलफल हुने जानकारी दिए।

सार्कलाई सक्रिय बनाउने प्रस्ताव

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच सार्कलाई पुनः ब्युँताउनेबारे स्वाभाविक रूपमा छलफल हुने बताए। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनः सक्रिय बनाउनेबारे नेपालले अध्यक्ष राष्ट्रका हैसियतले प्रस्ताव राख्ने उनको भनाइ थियो।

उनले भने, 'सार्कको विषय द्विपक्षीयभन्दा पनि सार्कका सबै सदस्य राष्ट्रहरूको साझा चासोको विषय हो। संयुक्त राष्ट्रसंघको  आगामी ७४ औँ महासभाको बैठकमा पनि सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको साइडलाइनवार्ता गराउने तयारीमा छौँ।'

नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो। लामो समयदेखि सार्कको शिखर सम्मेलन हुन सकेको छैन। नेपालपछि पाकिस्तानले सार्कको शिखर सम्मेलन गरेर अध्यक्षता लिनुपर्नेमा भारत-पाकिस्तानबीचको तनावका कारण सार्क निष्क्रिय भएको छ।

को-को हुँदैछन् सहभागी?

नेपाल-भारत संयुक्त आयोगको पछिल्लो बैठक सन् २०१६ मा भारतको राजधानी नयाँदिल्लीमा भएको थियो। सन् १९८७ मा स्थापना भएको यो आयोगको प्रमुखमा दुवै देशका परराष्ट्रमन्त्री छन्।

उनीहरू संयुक्त रूपमा सहअध्यक्ष भएर बैठकमा सहभागी हुन्छन्। यो आयोगको बैठक अहिलेसम्म चार पटक बैठक भएको छ र बुधबार पाँचौँ बैठक हुन लागेको हो। यो आयोगको बैठक आलोपालो आयोजना गरिँदै आएको छ।

काठमाडौंमा अगष्ट २१ र २२ (भदौ ४ र ५ गते) मा दुई दिन हुने बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा परराष्ट्र सचिव, भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयमा दक्षिण एसियाली महाशाखा हेर्ने अधिकारी, गृह मन्त्रालय, ऊर्जा तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको तर्फबाट आफ्नो नेतृत्वमा ३५ सदस्य सहभागी हुने जानकारी दिए।

भारतको तर्फबाट त्यहाँका विदेशमन्त्री सुब्रमण्यम जयशंकर, विदेश सचिव, नेपालका लागि भारतीय राजदूतलगायतका अधिकारीको सहभागिता हुने पनि मन्त्री ज्ञवालीले जानकारी दिए।

जयशंकरले नेपालमा रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.